स‍ंविधान सभा भंग भएको भोलिपल्ट प्रधानमन्त्री भट्टराईले जनतासँग प्रधानमन्त्रीको प्रत्यक्ष फोन वार्ता, निर्वाचनको घोषणा संवैधानिक भएको दावी

काठमाडौँ – स‍ंविधान सभा भंग भएको भोलिपल्ट प्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपालको जनतासँग प्रधानमन्त्री कार्यक्रममा जनतासँग प्रत्यक्ष फोन वार्ता गरेका छन्।

त्यस क्रममा आगामी मङ्सिर ७ गते घोषणा गरिएको निर्वाचनमा आफनो पार्टीलाई नेपाली जनताले दुई तिहाई मत दिएर विजयी बनाउने दाबी गर्दै उनले भने- ‘परिवर्तनको एजेन्डालाई स्वीकार नगर्नेहरूलाई नेपाली जनतालो ठेगान लगाइदिने छन्। ‘


निर्वाचनको घोषणा संवैधानिक भएको उनले बताए। सरकारले सर्वोच्च अदालतको आदेशअनुसार कानुनी संवैधानिक दायराभित्रै रहेर नयाँ निर्वाचन घोषणा गरेको उनले बताएका हुन्। सरकारले अन्तरिम संविधानको धारा ६३ को उपधारा २ अनुसार नै वैधानिकरुपमा निर्वाचनको घोषणा गरेको उनको प्रष्टोक्ती थियो।


नेपाली काँग्रेस र नेकपा(एमाले) सङ्घीयतामा जान नचाहेका कारण संविधानसभा विघटन हुनपुगेको चर्चा गर्दै उनले भने- ‘सङ्घीयताको मूल मर्मअनुसार अगाडि बढ्न नचाहने प्रवृति नै संविधान निर्माणमा बाधक देखियो, जसका कारण संविधान निर्माण हुन सकेन।’

राजनीतिक दलहरूको बीचमा सहमतिको लागि छलफल सुरु गरिसकेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा संविधानसभाको निर्वाचन गरिने बताउनुभयो।


चार वर्ष लगाएर पनि संविधान निर्माण गर्न नसकेकोमा नेपाली जनतासमक्ष माफी माग्दै प्रधानमन्त्रीले समयमै काम हुन नसक्नुको पछाडि विभिन्न कारण रहेको बताए।



एकीकृत नेकपा(माओवादी)ले समयमै संविधान बन्छ भनेर जनमुक्ति सेनाको हतियार बुझाएको र सेना समायोजनको प्रक्रिया अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्रीले सात दिनभित्र संविधान बन्छ भन्ने नेपाली काँग्रेस र नेकपा (एमाले)ले अन्तिम समयमा आएर सङ्घीयता स्व्ाीकार गर्न नचाहेका कारण संविधान बन्न नसकेको बताए।


एकीकृत नेकपा (माओवादी)ले जातका आधारमा सङ्घीय राज्यहरू निर्माण गर्न नचाहेको तर उत्पीडित क्षेत्र तथा वर्गका जनतालाई अधिकार मात्रै दिन चाहेको उल्ल्ोख गर्दै प्रधानमन्त्री भट्टराईले त्यसलाई केही पुराना संसदवादी पार्टीले नकारात्मक प्रचार गरेको बताए।


सविधान बन्न नसक्नुमा ६०१ जना सभासदहरू दोषी नरहेको स्पष्ट पार्दै उनले राजनीतिक दलका शीर्ष नेताहरू नै दोषको प्रमुख भागीदार रहेको बताए।


आफनो पार्टी अन्तिम समयसम्म संविधान निर्माणमा केन्द्रित रहेपनि एमाओवादीले संविधान निर्माण गर्न चाहेन भनेर गरिएको प्रचारको कुनै तुक नरहेको समेत उनले प्रष्ट पारे। रासस