काठमाडौं – प्रधान मन्त्री बाबुराम भट्टराईले घोषणा गरेका चुनाव अवैधानिक भएकाले रोकिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता सन्तोष बस्नेतले दायर गरेका उक्त रिटमा जुन धारा समातेर प्रधान मन्त्रीले चुनाव घोषणा गरे, त्यो एक पटकका लागि मात्र भएको र प्रयोजन सकिइसकेकाले पुन: त्यसैका आधारमा चुनाव हुन नसक्ने दाबी गरिएको छ।
रिटमा अन्तरिम संविधानको धारा ६३ मा २०६३ मङ्सिर मसान्तसम्म १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उल्लेख गरिएकोले सो धारा त्यतिबेला एक पटकका लागि मात्र व्यवस्था गरिएको जिकिर गरिएको छ। त्यही व्यवस्था लागू भए लाखौँ नागरिक मतदानबाट वञ्चित हुने रिटमा छ।
सो रिटको अन्तिम टुङ्गो नलागेसम्म गत आइतबारको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ।
रिटमा सरकारको सो गैरसंवैधानिक निर्णय कार्यान्वयन नगर्न र नगराउन परमादेशलगायतका आदेश जारी गर्न पनि माग गरिएको छ। – नागरिक