आगामी मंसिर ७ गते चुनाव भए २३ वर्ष पुगेकाले समेत मतदान गर्न नपाउने

काठमाडौँ – अहिलेकै व्यवस्था अनुसार सरकारले प्रस्ताव गरेको मिति मङ्सिर ७ मा निर्वाचन भए त्यतिञ्जेल २३ वर्ष पुगिसकेकाले समेत मतदान गर्न पाउने छैनन्।

 

अन्तरिम संविधान २०६३ को धारा ६३ को उपधारा ७ मा ६ वर्षअघि १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उल्लेख छ।

‘संविधान सभाको निर्वाचनको प्रयोजनको लागि सम्वत् २०६३ साल मङ्सिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ’, सो उपधारामा लेखिएको छ।

यसबाट ठूलो संख्यामा मतदाता मतदान गर्नबाट वञ्चित हुने देखिएको छ। उनीहरुलाई मतदानको अधिकारबाट वञ्चित नगर्न संविधानको सो धारा संशोधन गर्नुपर्ने हुन्छ। तर संविधान सभासँगै व्यवस्थापिका संसद पनि गत जेठ १४ गते मध्यरात स्वतः भंग भएपछि संशोधन गर्न सक्ने स्थिति छैन।

सर्वोच्चले गत वर्षको मङ्सिर मङ्सिर ९ गते तोकिएको समयमा संविधान बन्न नसक्ने स्थिति भएमा धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न सकिने फैसला गरेको थियो।

-नागरिक