नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट

कावासोती – नवलपरासीको डण्डा जङ्गलमा १४ वटा ट्रकमा लुटपाट भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत डण्डा र चोरमारा सडक खण्डमा पर्ने ४० कि.मी. भन्ने स्थानबाट ४०/५० जनाको समूहले आज दिउँसो ती ट्रकलाई रोकी लुटपाट गरेका हुन्।

काठमाडौँबाट खच्चर र गधा लोड गरी नेपालगन्जतर्फ जाँदै गरेका सो ट्रकहरुलाई घना जङ्गलको बीचमा रोकेर प्रतिट्रक रु तीन हजारदेखि रु चार हजार जवरजस्ती असुल गरेका पीडित सन्तोष खतिवडाले बताए।


पशु ढुवानी मापदण्ड २०६४ अन्तर्गत पशु सेवा विभाग र क्वारेन्टाइन चेक पोष्टको अनुमतिमा काठमाडौँस्थित एनिमल नेपालले नेपालगन्ज लग्दै गरेको गधा र खच्चरवापतको रकम नदिए कुटपिट गर्ने धम्की दिँदै जवरजस्ती रकम असुल गरी लगेको खतिवडाले जानकारी दिए।


राजमार्गका विभिन्न स्थानमा रहेका युवाहरुले आफूहरुलाई पछ्याउँदै आएको र आफूहरु लुटिन सकिने जानकारी प्रहरीलाई दिँदादिँदै पनि प्रहरीले बेवास्ता गरेका कारण आफूहरु लुटेको खतिवडाले दुखेसो गरे।


प्रहरी डण्डादेखि पश्चिम दुई किलोमिटरसम्म मात्र आएर फर्केपछि लुटेराहरुले बीच जङ्गलमा ट्रक रोकी जबरजस्ती रकम लुटेर लगेको बताए।


गएराति नै काठमाडौँबाट हिँडेका ट्रकहरुलाई धादिङको खानीखोला नजिक त्यहीका लुटेराहरुले लुट्ने प्रयास गरेका थिए। तर समयमै प्रहरी आएकोले प्रहरीकै स्कटिङमा नारायणघाटसम्म सकुसल आएको खतिबडाले बताए। केही युवाहरुले धादिङमै पशु चिकित्सक सुदिप कोइरालालाई कुटपिट गरेर गैडाकोटका केटाहरुलाई फोन गरेर रकम असुल्न जानकारी गराएको खतिवडाले बताए।


खतिवडाका अनुसार ना.३ ख ६४७२,ना.२ख ८४८३,ना.३ख६१४९,ना.३ ख ३६४४,ना.३ख ९९१२,ना.२ख ९११५,ना.३ख ९६२६,ना.२ख ८६४५,ना.३ख ५६१५,ना.३ख६८२९,ना.३ख ८४७३ र ना.३ ख ७४०४ नम्बरको ट्रकका चालकहरुबाट जबरजस्ती रकम असुल गरेर मात्र ट्रकहरु छाडेका थिए।


जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त ट्रकहरुलाई गैडाकोटमा केही समय कसैले रोकिराखेको जानकारी पाएपछि ती ट्रकहरुलाई पठाएको तर रकम असुलबारे कुनै जानकारी नभएको जनाएको छ। रासस