सिरिया सरकारले अघिल्लो साताको नरसंहार विद्रोहीहरुले नै गराएको आरोप लगाएको छ । हौला शहरमा गत हप्ता १ सय ८ जना मारिएको नरसंहारमा सरकारी सेनाको हात नभई विद्रोहीले अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न आमसंहार गराएको आरोप निकै दिनपछि सरकारले लगाएको हो । घटनाको छानविन गर्न सरकारले बनाएको समितिले आफू चोखिने गरी यो प्रतिवेदन ल्याएको हो । उक्त आमसंहारमा ४२ जना त बालबालिका नै मारिएका थिए । हिंसा अनुगमनका लागि खटिएको राष्ट्रसंघीय पर्यवेक्षकहरुले घटना भएको समयमा उक्त शहरमा सरकारी फौज सक्रिय रहेको बताउँदै आएका छन् ।
यता अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टनले सिरियाबारे रुसको गलत नीतिका कारण त्यहाँ गृहयुद्ध निम्तिने खतरा बढेको बताउनुभएको छ । राष्ट्रसंघ सुरक्षा परिषदमा सिरियाविरुद्ध प्रस्ताव ल्याउँदा रुस र चीनले भिटो लगाएको स्मरण गर्दै क्लिन्टनले रुसी प्रोत्साहनले हिंसाले मलजल पाएको आरोप लगाउनुभयो । युरोप भ्रमणको क्रममा डेनमार्क पुग्नुभएकी क्लिन्टनले अझैपनि रुसले चाहेमा सिरियामा शान्ति बहाली हुनसक्ने बताउनुभयो ।