सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा देशभरका अदालतहरु बन्द

– केपी ढुंगाना, नागरिक

 

काठमाडौं – सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा आज देशभरका अदालतहरु बन्द छन्। बिहीबार हत्या भएकै दिन बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका अदालत बन्द गर्ने निर्णय गरेको थियो।

 

तीन दिन बितिसक्दा पनि घटनाको अनुसन्धान गरिरहेका प्रहरीले हत्या कसले र किन गर्‍यो भन्ने बारे केही पत्ता लगाउन सकेको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल त भेटिएको छ, तर त्यो नक्कली भएको थाहा पाएपछि हत्यारा निकट पुग्ने प्रहरीको आशा तुहिएको छ।

हत्या लगत्तै लावारिस अवस्थामा फेला परेको मोटरसाइकलको मद्धतले हत्यामा संलग्नसम्म पुग्ने प्रहरीको आश थियो। तर, अनुसन्धानमा सो बाइक दुई महिना अगाडि हराएको खुल्यो।


१८ गते कलंकीको घरवाट बंगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जाने क्रममा शंखमुल युएन पार्क नजिकै न्यायाधीश बमलाई गोली हान्न आएका दुई युवकले रातो पल्सर प्रयोग गरेको घटनाका प्रत्यक्षदर्शी चालक अष्ट लामाले बताएका थिए।


सोही जानकारीको आधारमा रातो पल्सरको खोजीमा जुटेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले आधा घन्टामै बेवारिसे अवस्थामा बा ४३ प ७२०८ नम्बरको रातो पल्सर फेला पारेको थियो।


साढे २ वर्ष अगाडि मारिएका सञ्चार उद्यमी जमिम साह हत्याको रहस्य खुलाउन हत्यामा प्रयोग भएको मोटरसाइकलले महत्वपूर्ण सहयोग पुर्‍याएको थियो। २०६६ माघ २४ गते लाजिम्पाटमा गोली हान्दाहान्दै एक प्रत्यक्षदर्शीले मोटरसाइकलको तस्विर खिचेका थिए। त्यसैको आधारमा प्रहरीले तेस्रो दिन बालाजुको माथिल्लो भागमा बाइक फेला पारेको थियो। त्यही बाइकको आधारमा प्रहरीले हत्यामा सुटर मोहम्मद वकार सैयदलगायतकाको संलग्नताको पुष्टि गरेको थियो। बम हत्यामा पनि मोटरसाइकल सहयोगी हुने अनुसन्धान अधिकारी आशावादी भएपनी ‘चोरीको बाइक’ भएको खुलेपछि तथ्यहीन हुनपुगे।


अनुसन्धानवाट सो मोटरसाइकलमा प्रयोग गरिएको नम्बर नै नक्कली रहेको खुलेको छ। अनुसन्धान स्रोतका अनुसार रातो पल्सरमा प्रयोग गरिएको नम्बरमा कालो पल्सर दर्ता छ। प्रहरीले फेला पारेको मोटरसाइकलको असली नम्बर बा ३७ प ३६५३ नम्बर रहेको खुलेको एक प्रहरी अधिकारीले बताए। दुबै मोटरसाइकलका धनी प्रहरी सम्पर्कमा आइसकेका छन्। स्रोतका अनुसार सो मोटरसाइकल बैशाखमा हराएको थियो।


मोटरसाइकल धनीले बैशाख तीन गते प्रहरीमा मोटरसाइकल हराएको निवेदन दिएको खुलिसकेको छ।

चालकले बममाथि गोली हान्न आएका सुटरले रातो पल्सर नै प्रयोग गरेको बयान दोहोर्‍याएको र लावारिस अवस्थामा भेटिएको मोटरसाइकलको नम्बर नक्कली भेटिनुले सो मोटरसाइकल बमकै हत्याराले प्रयोग गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको निष्कर्ष छ।


काठमाडौंमा हराउने मोटरसाइकल तत्काल उपत्यका बाहिर पुग्ने गरे पनि सो मोटरसाइकल भने दुई महिनादेखि काठमाडौं मै रहेकाले हत्यामा संलग्नहरुले हत्यामा प्रयोग गर्ने उदेश्यले मोटरसाइकल चोरी गरी लुकाएर राखेको र नक्कली नम्बर प्लेट राखेर हत्यामा प्रयोग गरेको प्रहरीको आशंका छ। सोही आधारमा बम हत्याको योजना २ महिना अगाडिबाट बनेको हुनसक्ने एक प्रहरी अधिकारीले बताए।

‘हत्याराहरु बढी नै चलाख देखिए’अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। जुन प्रकृतिमा मोटरसाइकल फेला परेको छ, त्यसले हत्यामा त्यसैको प्रयोग भएको देखिए पनि त्यसको सहयोगमा हत्यारासम्म पुग्न असहज भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

घटनाको अनुसन्धानमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, प्रतिआतंकवाद निर्देशनालय, महानगरीय प्रहरी अपराध महाशाखाका अनुभवी प्रहरी अधिकारी परिचालित छन्। तर, सम्भावित संकेतको अभावमा अनुसन्धानको बाटो पहिल्याउनै कठिन भएको एक अधिकृतले बताए। ‘मोटरसाइकल सक्कली भएको भए केही सहज हुनसक्थ्यो’ एक अधिकृतले भने, ‘कुनै तथ्य नै फेला नपर्दा एक कोणमा अनुसन्धान केन्द्रित गर्नै सकिएन।’


तीन दिनको विष्लेशणका आधारमा हत्या पूर्ण योजनावद्ध र ‘सुटर’ अनुभवी रहेको निष्कर्ष प्रहरीको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले ‘सुटर’ भारतीय अपराधी, अवकाशप्राप्त सुरक्षाकर्मी वा माओवादी लडाकु हुनसक्ने’ निष्कर्ष निकाल्दै सोही कोणबाट अनुसन्धान अगाडि बढाइरहेको छ।