इजिप्टमा पूर्व शासक होस्नी मुवारकलाई अदालतले जन्मकैदको मात्र सजायँ दिएकोमा असन्तुष्ट लाखौं नागरिक कायरोको तहरिर चोकमा भेला भएर प्रदर्शन थालेका छन् । मुवारक र उनको सरकारमा गृहमन्त्रीरहेका हबीब अल अदलीलाई सन् २०११ को जनआन्दोलन दवाएको र नौ सय नागरिकको हत्या गरेकोमा दोषी ठहर गर्दै अदालतले हिजो जन्मकैदको फैसला सुनाएको थियो ।
अरु केही सरकारी अधिकारी र मुवारकका छोरालाई भने अदालतले रिहा गर्ने फैसला सुनाएको थियो । प्रदर्शन सिकंदरियासहितका अरु थुप्रै्र शहरमा पनि भएका छन् । जनआन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएकाहरु फैसला सन्तोषजनक नभएको भन्दै प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनकारीले मुवारकलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरेका छन् ।
अरब जगतमा ट्यूनिसियाबाट शुरु भएको लोकतान्त्रिक आन्दोलनको लप्काले यमन, लिबिया, सिरियालगायतका देशमा निरंकुश शासनको जगलाई हल्लाइदिएको मात्र होइन, सिरियाबाहेक अरु देशमा शासकको पतननै गराइदियो । सन् २०११ को सुरुमै इजिप्टमा चलेको आन्दोलनले ३० वर्ष लामो मुबारकको सत्ता ढालेको थियो ।