मोहनविक्रम सिंहद्धारा माओवादीले मार्क्सवाद,लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको आरोप

– जनक नेपाल

 

Mohan Bikram Singhनेपालगन्ज  – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादीले मार्क्सवाद र लेनिनवादबाट पतन भई जातीयताको झण्डा बोकेकाले संविधान नबनेरै संविधानसभा भंग भएको बताएका छन् ।

माओवादीले बहुबहिचानका ११ प्रदेशसहितको संविधान बनाउन सहमति गरेर पनि जातियतामा फसेर पछाडि फर्केको उनले आरोप लगाए । जातिय राजनीति र सत्ता खेलले जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्नमा अबरोध पुर्‍याएको उल्लेख गर्दै महामन्त्री सिंहले जनतालाई जागरण गरेर दबाब दिनुपर्ने आवश्यकता औल्याएका छन् ।

वर्गिय राजनीति छाडेर जातीय राजनीतिमा लागेकाले माओवादी सैद्धान्तिक रुपमा बिचलन भएको आरोप लगाउँदै उनले आइतवार नेपालगन्जमा पत्रकारहरुसँग भने, ‘माओवादी अध्यक्ष प्रचण्डले जातियता र क्षेत्रीयतालाई हतियार बनाएर कार्यकारी राष्ट्रपति हुने महत्त्वकांक्षा राखेका छन् ।’

कांग्रेस र एमालेसमेत जातियताविरुद्ध रहेका बेला माओवादीलाई साम्राज्यवादीहरुले जातियता फसाएको महामन्त्री सिंहले आरोप लगाए ।