काठमाडौं – काठमाडौंबाट हेटौडा जाँदै गरेको बा ८ च ४६१४ नम्बरको पिकअप भीमफेदी नजिकै भिरमा खस्दा दुई जनाको निधन भएको छ। तीन जनामात्र रहेको गाडी सडकबाट २ सय मिटर तल खस्दा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको निधन भएको छ।
मृत्यु हुने अर्को व्यक्तिको पहिचान हुन नसकेको एसपी पूर्णचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार चालकको अवस्था गम्भीर छ। दुर्घटनास्थल मोड र भिरालोमा छ। दुर्घटनामा परेका दुबैको उपचारका लागि लैजानेक्रममा निधन भएको हो।
मकवानपुरको जुडिखेल ८ मा दुर्घटना भएको हो। बिहान ९:३० बजे दुर्घटना भएको थियो। घाइते चालक राजकुमार तामाङलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
मृत्यु भएको देवकोटा काठमाडौं जिल्ला प्रमुखबाट अवकाश पाएका सरकारी कर्मचारी हुन्। पछि सरकारले उनलाई विभागको प्रमुखमा नियुक्त गरेको थियो। बोर्डले वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षालगायतका विषयमा काम गर्ने गर्छ।
– नागरिक