काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेविरुद्ध आमसभा गर्ने प्रस्ताव साना दलले अस्वीकार गरेका छन् । एक अर्कोविरुद्ध सभा, जुलुसमात्रै गर्दा मुलुक मुठभेडमा जाने भन्दै उनीहरुले दाहालको प्रस्ताव मानेनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दलको बैठकमा दाहालले कांग्रेस-एमालेको आमसभालगत्तै सरकारमा सहभागी दलले पनि आमसभा गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘अन्य दल (कांग्रेस-एमाले)ले संविधानसभा विघटनबारे एकतर्फी कुरा राख्दा जनतामा नकारात्मक बुझाइ हुन सक्छ,’ दाहालले भनेका थिए ।
कांग्रेस, एमालेलगायत साना दलले जेठ २६ गते राजधानीमा आमसभा गर्दैछन् ।
सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेका परिवार दलका अध्यक्ष एकनाथ ढकालका अनुसार माओवादी र मधेसी मोर्चाका तर्फबाट दाहालले राखेको प्रस्ताव साना दलले अस्वीकार गरे । ‘अहिलेको आवश्यकता सहमतिको हो,’ उनले भने, ‘यसरी एक अर्काविरुद्ध प्रचारवाजी गरे मुलुक मुठभेडतिर जान सक्छ भन्ने हाम्रो तर्क रहृयो ।’
प्रधानमन्त्रीले राजीनामा दिने अवस्था पनि नरहेको र कांग्रेस-एमाले सरकारमा आउन नसक्ने अवस्थामा रहेकाबेला सहमति बिग्रने काम गर्न नहुने साना दलको भनाइ रहेको उनले बताए । बैठकले संविधानसभा विघटनपछिको अवस्थाबारे सुझाव लिन अन्तर्क्रिया गर्ने निर्णय गरेको ढकालले बताए । – कान्तिपुर