भारतको पश्चिम बंगालमा उच्च तापमानपछि बढेको अत्यधिक गर्मीका कारण १७ जनाको मृत्यु भएको छ । गर्मीका कारण घमौरा र लु लागेका बिरामीले पश्चिम बंगालका अधिकांश अस्पतालहरु भरिएका छन् ।
पश्चिम बंगालको बर्दवान जिल्लाको जनजीवन गर्मीबाट सबैभन्दा प्रभावित बनेको छ भने कोलकाताका सर्वसाधारण पनि गर्मीको मारमा परेका छन् ।
गर्मीकै कारण पश्चिम बंगालका अधिकांश बिद्यालय र कलेजहरु बन्द गरिएका छन् । निम्नबर्गीय परिवारको बाहुल्यता रहेको पश्चिम बंगालका धेरैजसो बृद्धबृद्धा लु को शिकार बनेका छन् ।
भारतीय मौसमबिद्हरुले पश्चिम बंगालका केही जिल्ला लगायत कोलकातामा लु को खतरा रहेको भन्दै सचेत रहन अपील गरेका छन् । पश्चिम बंगालमा तापमान ४६ डिग्री सेल्सियस पुगको छ ।