कांग्रेस-एमाले लगायत २२ दलीय गठबन्धनले माओवादी सत्ताकब्जाको रणनीतिमा अघि बढेको भन्दै शक्ति प्रदर्शनसहित विरोध सभा

काठमाडौ – कांग्रेस-एमाले लगायत २२ दलीय गठबन्धनले माओवादी सत्ताकब्जाको रणनीतिमा अघि बढेको भन्दै त्यसविरुद्घ शुक्रबार राजधानीमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्दैछन् । ती दलका शीर्ष नेताहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारको कार्यक्रम सुरुवात मात्र भएको र त्यसपछि अझै ठूलो संघर्षका कार्यक्रम अघि सार्ने घोषणा गरेका छन् ।

संविधानसभाको विघटन र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणाप्रति आपत्ति जनाउँदै आएको गठबन्धनले सहमतिको राजनीतिमा माओवादीलाई ल्याउन सडक संघर्षमा उत्रिएको जनाएको छ । ‘सबै राजनीतिक दलहरुबीच समाधान नखोजी एकाएक प्रधानमन्त्रीले चुनाव घोषणा गर्नुभयो,’ काग्रेस सभापति सुशील कोइरालाले भने, ‘वैधानिक र राजनीतिक रुपमा मुलुकलाई संबैधानिक दिशामा प्रवेश गराउनका लागि हामीले आन्दोलन थालेका हौ ।’

कांग्र्रेस उपसभापति रामचन्द्र पौडेलले पाँच बुदे सहमतिको बाटोमा माओवादी फर्केमा राजनीतिले बैधानिक बाटो तय गर्न सक्ने बताए । जेठ २ मा भएको पाँच बुदे सहमतिविरुद्घ माओवादी हिंडेकाले त्यो सहमतिकै विन्दुमा फर्काउन पहल गर्ने उनले उल्लेख गरे । पाँच बुदेमा शान्ति प्रक्रिया, संविधान निर्माण देखि राष्ट्रिय सहमतिको सरकार निर्माणसम्मका बिषय उल्लेख थिए ।

संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले शुक्रबारको विरोध सभा शुरुवात मात्र भएको बताए । ‘यो शुरुवात मात्र हो, असली आन्दोलन अझै ठूलो हुनेछ’ खनालले भने- ‘माओवादी अधिनायकवादी क्रियाकलापविरुद्घ र नेपाली जनताको न्यायको निम्ति हामी आन्दोलनमा आएका हौ ।’

माओवादी र प्रधानमन्त्रीले अस.बैधानिक ढंगले संविधानसभा विघटनदेखि चुनाव घोषणासम्मका क्रियाकलाप गरेकाले त्यसको भण्डाफोर गर्न जरुरी रहेको खनालले बताए । सरकारलाई हटाएर नयाँ सहमतिको सरकार निर्माण गर्ने र त्यसपछि अन्य विकल्पमा तिर लाग्ने खनालको धारणा छ । राष्ट्रपतिलाई अनावश्यक रुपमा सक्रिय गराउन उक्साएको भन्ने आरोपको नेताहरुले खण्डन गरेका छन् । ‘राष्ट्रपति विधि विधानबाट चल्ने हो कसैले उक्साएको पनि छैन’ सभापति कोइरालाले भने ।

गठबन्धनकारी दलहरुले माओवादी सत्ताकब्जाको पछिल्लो शिकार संविधन सभा भएको उल्लेख गरेका छन् । ‘माओवादी नेतृत्वको सरकारले संविधान सभाको अर्को निर्वाचनको नाटकद्वारा सत्ताकब्जा र आफ्नै पार्टीको सर्वसत्तावाद लाद्ने नियत प्रष्ट भएको छ’ संयुक्त विज्ञप्तीमा छ,’सत्ताकब्जाका लागि एकपछि अको ब्यूहरचना गर्दै आएको माओवादीको पछिल्लो शिकार संविधान सभा हुनपुगेको छ ।’

गठबन्धनकारी दलहरुले विरोध सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् । एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार दिउसो १ बजे जुलुससहित खुल्लामञ्चमा प्रवेश हुने कार्यक्रम छ । उनका अनुसार, भृकुटीमण्डपबाट एमाले, सुन्धाराबाट कांग्रेस, भद्रकाली, लैनचौर, न्यूप्लाजा, नक्साल लगायतका क्षेत्रबाट अन्य साना दलका जुलुस निस्कनेछन् । एक बजेबाट जुलुस खुल्लामञ्चमा प्रवेश गर्नेछ । मञ्चमा दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

– कान्तिपुर