नेपाली कांग्रेस र नेकपा एमाले सहितको २२ दलको विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद छोडेर राष्ट्रिय सहमतिको बाटो खुला गर्न आह्वान गरेका छन्।
निर्धारित समयमा संविधान लेख्न विफल भएपछि दोश्रो संविधानसभाको चुनाव घोषणा गरेको सरकारको विरोध गर्न काठमाण्डूको खुलामन्चमा शुक्रबार आमसभा आयोजना गरिएको थियो।
उक्त सभामा विपक्षी नेताहरुले प्रधानमन्त्रीले पदत्याग गरेपछि बन्ने सहमतिको सरकारले नै संकट समाधानको विकल्प खोज्ने बताएका थिए।
माओवादीसँग विद्रोह कालदेखि वार्ताहरुमा संलग्न रहँदै आएका एमाले बरिष्ठ नेता माधव कुमार नेपालले सभामै राष्ट्रिय सहमतिको सरकारसँग समस्या समाधानका लागि हुन सक्ने ६ वटा विकल्पहरु प्रस्तुत गरे।
उनले भने, “संविधानसभाको नयाँ चुनावमा जाने या जनमत संग्रहको विधि अवलम्बन गर्ने, आयोगको माध्यमबाट संविधान बनाउने या संसदको चुनाव गरिकन त्यसैले एक महिनाको निम्ति संविधानसभाको पनि काम सम्पन्न गरी पाँच वर्षको संसदको चुनावमा एकैपटक जाने या छोटो समयका लागि संविधानसभाको पुनस्थापना गर्ने।”
नेताहरुले जातीय सदभाव विथोल्ने काममा माओवादी जिम्मेवार भएको आरोप लगाएका थिए।
आफुहरु संघीयता विरोधी नरहेको सबैजसो नेताहरुले बताएका थिए।
संविधानसभा भंग गरेर माओवादीले सत्ताकब्जाको प्रयास गरेको सबैजसो नेताहरुले आरोप लगाएका थिए।
कांग्रेस सभापति सुशील कोइरालाले आफुहरुले कुनै पनि हालतमा लोकतन्त्र माओवादीलाई बुझाउन नसक्ने बताए।
उनले भने, “जहिले पनि हिजो कुरा गर्यो अर्कोदिन फेर्यो। म त हैरान भएर माओवादीहरुलाई भन्दिएं उसोभए तपाइहरु जानोस् बन्दुकको लडाइ लड्नोस हामी विचारको लडाइ लडौंला।”
संविधानसभा भंग भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले भेटेका सबैजसो विपक्षी नेता र पूर्व प्रधानमन्त्रीहरुले विरोध सभामा बोलेका थिए।
२२ दलको विपक्षी गठबन्धनको आयोजनामा गरिएको भएपनि आमसभामा अपेक्षा गरेभन्दा न्यून उपस्थिति रहेको थियो।
राष्ट्रिय लोकतान्त्रिक अभियानको नाममा गरिएको विरोध कार्यक्रममा प्रधानमन्त्रीले तत्काल पद नछोडे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिइएको थियो। – Agencies