काठमाडौं – एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष गरेका छन्। उनले माओवादीको वर्तमान नेतृत्व र सोचबाट क्रान्ति पूरा हुन नसक्ने भएकाले नयाँ पार्टी आवश्यक भएको पनि बताए।
आज राति प्रशारण हुने हिमालय टेलिभिजनको एक कुराकानीमा उनले यस्तो बताएको रिपोर्टर्स क्लबले जनाएको छ। ‘अहिलेको पुरानो पार्टीले क्रान्ति हाँक्न सक्दैन, नयाँ क्रान्तिकारी विचारलाई अघि बढाउन र नेतृत्व गर्न पनि क्रान्तिकारी पार्टी आवश्यक छ’, वैद्यले भनेका छन्- क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र मुलुकलाई नयाँ निकास दिन भेला निर्णायक हुनेछ।
माओवादीको अहिलेको नेतृत्व पक्ष क्रान्तिकारी विचारबाट विचलित भएको, यसले कम्युनिष्ट पार्टीको जनवादी नीति त्यागेको, जुझारु र सशक्त धार बिर्सिसकेको वैद्यको आरोप थियो। ‘प्रचण्डजीहरुको नेतृत्व कम्युनिष्ट विचारबाट बाहिरिसक्यो’, वैद्यले भने- उहाँहरुमा जुन भड्काव आएको छ, त्यसमा सुधार हुने सम्भावना देखिएन। अब पनि सुधार भएन भने अर्को पार्टी जन्मन्छ, जन्मन्छ। – (नागरिक)-रिपोर्टर्स क्लब