नेपाली कांग्रेसभित्रको विवाद समाधान

नेपाली कांग्रेसभित्र प्रभावशाली नेता शेरबहादुर देउवा र संस्थापन पक्षबीच महिनौंदेखिको विवाद समाधान हुने स्थितिमा पुगेको विवाद मिलाउन सकृय एकजना नेताले बताएका छन्।

देउवासँगको वार्तालापपछि सभापति सुशील कोइरालासँग छलफल गरेका एकजना नेता अर्जुननरसिंह केसीले त्यस्तो जनाएका हुन्।

उनले भने, “एक-दुई दिनमा सहमति भई केन्द्रिय समितिको संयुक्त बैठक बस्ने कुरामा मलाई विश्वास छ।”


छ महिनाअघिदेखि देउवा पक्षले बहिष्कार गरिरहेको केन्द्रिय समितिको बैठक सोमबार डाकिएको छ।
देउवा पक्षलाई त्यसमा सहभागी गराउने पहलकानिम्ति सभापति कोइरालाले नेता केसी सहितको एउटा टोलीलाई खटाएका थिए।

 

सहमतिको आधारबारे केसीले भने, “नेपाल विद्यार्थी संघको समितिमा केही संख्या थप्ने तथा तरुण दल र महिला संघका संयोजकको बहुमत हुने गरी विवाद मिलाउने आधार तयार भएको छ।”


तर देउवा पक्ष केन्द्रिय समितिको पहिलो दिनको बैठक फेरि पनि बहिष्कार गर्ने मनस्थितिमै छ।


देउवा निकट नेता गोपालमान श्रेष्ठले भने, “साँझसम्म हामी बैठकमा सहभागी हुने स्थिति बनेको छैन।”


विवादको श्रृँखला सभापति कोइरालाले केही भातृसंस्थाहरु विघटन गरेपछि उत्पन्न विवाद तदर्थ समिति गठनपछि मत्थर भएको थियो।


तर तदर्थ समितिको संयोजकको सामान्य बहुमत हुने गरी समिति बनाउने सहमति संस्थापनले अवज्ञा गरेको भन्दै देउवा पक्षले शुरु गरेको केन्द्रिय समिति बहिष्कार अहिलेसम्म जारी छ।

 

संसदीय दल र केन्द्रिय समितिको संयुक्त बैठकमा भने उक्त पक्ष सहभागी हुने गरेको छ।


बदलिएको राजनीतिक परिस्थितिमा समेत आफुहरुले बैठक बहिष्कार गर्नु पर्ने स्थितिलाई नेता श्रेष्ठले दूर्भाग्यपूर्ण स्थितिको रुपमा चित्रित गरे।


राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेका बेला अन्य राजनीतिक शक्ति पनि विवाद मुक्त छैनन्।
सत्ताधारी माओवादीले भरे-भोलि नै फुटने स्थिति व्यहोरी रहेको छ।


आदिवासी जनजाती नेताको असन्तुष्टि चर्किएपछि विपक्षी एमाले राष्ट्रिय भेला डाक्नु पर्ने स्थितिमा पुगेको छ।