गृहमन्त्री विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक विभाजन

गृहमन्त्री विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक फुट्ने निश्चित भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यहरु प्रमोद गुप्ता, ओमप्रकाश यादव लागयतका १० जना प्रभावशाली नेताहरुले आज पार्टीबाट सामूहिक राजिनामा दिएका छन् ।

 

फोरम लोकतान्त्रिकका यी प्रभावशाली नेताहरुको बहिर्गमनसंग उक्त पार्टी फुट्ने निश्चित भएको हो । पार्टी छाड्ने नेताहरुले पार्टी अध्यक्ष गच्छदारको तानशाही सहेर पार्टीमा बस्ने अवस्था नरहेको बताए । पत्रकार सम्मेलनमा प्रमोद गुप्ता र निलम बर्माले अबको लडाई गच्छदारसंग हुने स्पष्ट पारे ।

 

पार्टी छाडेका नेताहरुमा प्रमोद गुप्ता, निलम वर्मा, ओमप्रकाश यादव, कौशल यादव, रामानन्द मण्डल, अमृत अग्रहरि, अमिरुल्लाह अन्सारी, शिवजीप्रसाद सोनी, पारस साह र सेवकी देवी दास छन् ।

 

वरिष्ठ नेता शरत् सिंह भण्डारीलाई अन्यायपूर्ण तरिकाले हटाइएको भन्दै उनीहरुले अब भण्डारीसंग मिलेर छिट्टै नयाँ पार्टी गठन गर्ने समेत जनाएका छन । विजय गच्छदार मधेशको भावना बिपरित गएको र माओवादीको पुच्छर भएको आरोप पनि उनीहरुले लगाएका छन् । RSS