सरकारले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै कांग्रेस र एमालेद्धारा त्यसप्रति आपत्ति

सरकारले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले त्यसप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले ल्याउने अध्यादेश जारी नगर्न राष्ट्रपति डा. रामवरण यादव समक्ष ध्यानाकर्षण समेत गराएका छन् । दुई दलले आज विहान बैठक गरी राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर आफ्नो चासो व्यक्त गरेका हुन् । राष्ट्रपति यादवले भने यसबारेमा आफूले सबै दलसँग छलफल गर्ने आश्वासन नेताहरुलाई दिनुभएको छ ।


 यसअघि कांग्रेस महामन्त्री प्रकाशमान सिंहको ठमेल, चाक्सीबारीस्थित निवासमा भएको दुई दलको बैठकले काम चलाऊ हैसियतमा पुगेको सरकारले राष्ट्रिय सहमति जुटाउनुको सट्टा बजेटसहितका विभिन्न अध्यादेश ल्याउन खोजेकोमा विरोध गर्ने निर्णय गरेको थियो । सरकारले ल्याउने बजेटसहितका विभिन्न अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने र सरकार विरुद्ध सडक आन्दोलन थाल्ने निर्णय विपक्षीले गरेका छन् ।


३० बर्षे पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको चाक्सीबारी निवासबाटै शुरु गरिएको स्मरण गर्दै नेताहरुले वर्तमान सरकार र माओवादी विरुद्धको आन्दोलन पनि सफल भएर अर्को इतिहास रच्ने काम दावी गरे । छलफलमा नेताहरुले बाबुराम भट्टराई नेतृत्वको सरकारको विस्थापन, भावी आन्दोलनका कार्यक्रमबारे पनि छलफल गरेका थिए । जेठ १४ गते संविधान जारी नगरी संविधान सभाको म्याद सकिएको तथा मंसिर ७ गते प्रधानमन्त्री भट्टराईले संविधानसभाको नयाँ चुनाव गर्ने घोषणा गरेपछि दलहरुबीच ध्रुवीकरण तीब्र भएको छ ।

 

RSS