लिबियाको दक्षिणी शहर कुफ्रामा सुरक्षा फौज र आदिवासी लडाकुबीचको पछिल्लो झडपमा १६ जना मारिए

लिबियाको दक्षिणी शहर कुफ्रामा सुरक्षा फौज र आदिवासी लडाकुबीचको पछिल्लो झडपमा १६ जना मारिएका छन् । कुफ्रा शहरका रैथाने टुबो जातिका लडाकुले गत शनिवारदेखि सरकारी सुरक्षाफौज डेरासँग भिडन्त गरिरहेका छन् ।


 कुफ्रा शहरमा नियन्त्रण जमाउने प्रयासमा रहेका टुबो आदीवासीले सरकारी सुरक्षा फौजले आफुहरुलाई सफाया गर्न खोजेको आरोप लगाएका छन् । सरकारी फौजले भने गद्धाफीको शासनकालदेखि नैं कुफ्रा शहरलाई अवैध कारोबारको ट्रान्जीट बनाईरहेका आदिवासी लडाकुविरुद्धको संघर्ष भनेको छ ।


कुफ्रा शहर लिबियाली पूर्व शासक गद्धाफी समर्थकको राम्रो पकड भएको स्थान मानिन्छ । गत फेब्रुअरीमा यही शहरमा दुई आदिवासी जाती टुबो र जिवीबीचको भिडन्तमा दर्जनौं मारिएका थिए ।यता, लिवियामा बन्दी बनाइएका आफ्ना चार कर्मचारीलाई छुटाउन अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीको प्रतिनिधि त्रिपोली पुगेको छ । बन्दी कर्मचारीलाई जिन्तान शहरमा राखिएको छ ।

 

संदिग्ध काममा संलग्न रहेको भन्दै लिबियाली अधिकारीले अदालतका कर्मचारीलाई पक्राउ गरेको थियो ।