बर्माको पश्चिमी क्षेत्रमा बौद्धमार्गी र मुस्लिम समुदायवीचको हिंसा नियन्त्रण बाहिर गएपछि संकटकाल घोषणा गरिएको छ ।
बर्माका राष्ट्रपति थिन सिनले रकाईन क्षेत्रमा भड्किदै गएको हिंसा रोक्न संकटकाल घोषणा गर्नुभएको हो । हिंसामा हालसम्म १७ जना मारिएका छन् । सयौं घाईते भएका छन् ।
मे महिनाको अन्त्यमा मुस्लिमको आक्रमणमा परी एक बौद्धमार्गी महिला मारिएपछि दुई पक्षबीच हिंसा चर्किएको बीबीसीले जनाएको छ । बौद्ध र मुस्लिम बाहुल्य क्षेत्रका बासिन्दा एक अर्काको प्रतिकारमा हतियारसहित उत्रिएपछि संकटकाल घोषणा गरी सेना परिचालन गरिएको हो ।
बर्माका राष्ट्रपतिले बढ्दो जातीय दंगाले देशमा भइरहेको प्रजातान्त्रिक सुधारलाई असर पार्ने आशंका गर्नुभएको छ ।