काठमाडौं – संघीयता खारेजी, जातीय तथा क्षेत्रीय सद्भाव लगायतका माग राखी राष्ट्रिय जनमोर्चा नेपाल आन्दोलनमा उत्रिने भएको छ। राष्ट्रिय सहमतिको सरकार तथा संवैधानिक प्रक्रियाद्वारा संविधानसभाको चुनाव घोषणाको माग गर्दै असार १५ देखि आन्दोलनमा जाने भएको हो।
असार १५ गतेसम्म सङ्गठनको तयारीका कार्यक्रम र प्रचारमुखी आन्दोलन गर्ने र असार १५ पछि देशका विभिन्न भागमा आमसभा गरी जनतालाई संविधान निर्माण हुन नसक्नुमा दलहरुको नालायकीपन बारेमा भन्डाफोर गर्ने कार्यक्रम बनाएको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। संविधानसभाको विघटनपश्चात मुलुकमा उत्पन्न राजनीतिक स्थितिको मूल्याङ्कन गर्दै जेठ २७ र २८ गते बसेको केन्द्रीय समितिको बैठक अनुसार जनमोर्चा आन्दोलनमा उत्रन लागेको हो।
ठूला दलले संविधान निर्माणभन्दा सत्ताको प्रतिस्पर्धामा बढी समय खर्च गर्दा संविधान नबनाइ संविधानसभा विघटन भएको अध्यक्ष केसीको आरोप थियो।
संविधानसभाको चुनाव र त्यो चुनाव सम्पन्न गर्नका लागि जुन सहमति बन्दछ त्यसलाई अन्तरिम संविधानको बाधा फुकाउने व्यवस्थाअनुसार राष्ट्रपतिको आदेशद्वारा वैधानिकता दिने काम गरिनुपर्ने तर सो कार्य गर्दा राष्ट्रपतिले राजनीतिक सहमतिको आधारमा गर्नुपर्ने सो अवसरमा वितरित विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा देशमा जातिवाद र क्षेत्रीयतावादको खतरा बढेको जनाउँदै सङ्घीयता मुलुकका लागि अनुपयुक्त हुने उल्लेख गरिएको छ। – नागरिक