भारतमा नयाँ राष्ट्रपतिका लागि आगामी जुलाई १९ अर्थात् साउन ४ गते निर्वाचन हुने भएको छ । भारतीय केन्द्रीय निर्वाचन आयोगले हिजो नयाँदिल्लीमा पत्रकार सम्मेलन गरी राष्ट्रपतिको निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त भीएस सम्पथले मतदानको ३ दिनपछि जुलाई २२ मा मतगणना सुरु हुने जानकारी दिए । जुन ३० लाई उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन तोकिएको छ । भारतको संविधान अनुसार, सांसद र विधायकहरुसहितको इलेक्टोरेल कलेजले राष्ट्रपति चुन्नेछ । इलेक्टोरेल कलेजमा तल्लो सदन लोकसभा र माथिल्लो सदन राज्यसभाका मनोनीत बाहेकका ७७६ सांसद तथा राज्यहरुका विधानसभाका ४ हजार १ सय २८ सदस्यले मतदान गर्नेछन् ।
मतदान गर्ने सांसद तथा विधायकको मतको भ्यालु उनीहरुले प्रतिनिधित्व गर्ने राज्यको जनसंख्याको अनुपातमा विशेष सूत्रद्वारा निकाल्ने गरिन्छ । जसअनुसार, हालको अवस्थामा मतदानमा सहभागी हुने एकजना सांसद तथा विधायकको मतको भ्यालु ७०८ हुनेछ । राष्ट्रपति चुनिनका लागि कम्तीमा पनि ५ लाख ४९ हजार ४ सय ४२ भोट प्राप्त गर्नुपर्नेछ ।
यद्यपि कुनै पनि दलले आवश्यक मत प्राप्त गर्न सक्ने परिस्थिति छैन । त्यसकारण धेरैभन्दा धेरै दललाई मान्य हुने उम्मेदवार चयन गर्ने बाध्यतामा सत्तारुढ घटक कंग्रेस छ ।
कंग्रेसले औपचारिक रुपमा कुनै उम्मेदवार घोषणा नगरे पनि वित्तीय मन्त्री प्रणव मुखर्जीको सम्भावना प्रवल देखिएको छ । अप्ठ्यारो गठबन्धन सहयात्री दलका रुपमा देखिएको तृणमूल कंग्रेसकी प्रमुख ममता बनर्जीले प्रणव मुखर्जीलाई समर्थन गर्ने संकेत दिएपछि मुखर्जीको सम्भावना बढेको हो । यसअघि विपक्षी भारतीय जनता पार्टी लगायत दलहरुले समेत मुखर्जीलाई समर्थन गर्ने संकेत दिइसकेका छन् ।
समाजवादी पार्टी तथा बाम घटकहरु पनि मुखर्जीलाई समर्थन गर्ने विषयमा लचिलो देखिएका छन् । मुखर्जीको सम्भावना प्रवल बन्दै गए पनि राष्ट्रपति पदको दावेदारका रुपमा उपराष्ट्रपति हमिद अन्सारी, सभामुख मीरा कुमार लगायतको नाम पनि चर्चामा छन् ।
-Agencies