सिरियामा जारी नरसंहार नरोकीएपछि गृहयुद्ध हुने सम्भावना

सिरियामा जारी नरसंहार नरोकीएपछि गृहयुद्ध हुने सम्भावना बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सरकारी दमनका कारण दिनहुँ भइरहेको नरसंहारले गृहयुद्ध निम्त्याउने खतरा भएकाले सिरियामै ध्यान केन्द्रित गर्न राष्ट्रसंघले विश्वका नेताहरुलाई सचेत गराएको छ ।

 

राष्ट्रसंघका प्रवक्ता हर्व लेडसासले सिरियामा रहेका पर्यवेक्षकमाथि समेत आक्रमण हुनुले त्यहाँको स्थिति नाजुक रहेको प्रष्ट भएकाले समयमै ध्यान दिन विश्वसमुदायलाई सचेत तुल्याउनु भयो । सिरियाको हफा शहर निरीक्षणमा गएका राष्ट्रसंघीय पर्यवेक्षकमाथि गोलाबारी र ढुंगामुढा गरीएको थियो । सिरियाली सेनाले विपक्षीलाई घेराबन्दी गर्दै पर्यवेक्षकलाई समेत शहर प्रवेशमा रोक लगाएका हुन् ।

 

जसका कारण घेराबन्दीमा परेका सबैको हत्या हुनसक्ने राष्ट्रसंघले जनाएको छ । विपक्षीको नियन्त्रणमा रहेका शहरहरुमाथि पुन कब्जा जमाउने क्रममा सिरिया सरकारले जथाभावी गोलीप्रहार गरी नरसंहार मच्चाइरहेको राष्ट्रसंघीय पर्यवेक्षकहरुको भनाइ छ । सिरियाको हिंसामा १० हजारभन्दा बढी सर्वसाधारण मारिइसकेका छन् । – Agencies