विपक्षीहरुले चुनौती दिएको आउँदो मंसिर सात गतेका लागि घोषित संविधानसभाको चुनावका संवैधानिक एवं कानूनी जटिलता हल गर्न आफूले निर्वाह गर्नु पर्ने भूमिकाका विषयमा राष्ट्रपति रामवरण यादवले निर्वाचन आयोगसँग विशेष परामर्श गरेका छन्।
निर्वाचन आयुक्तहरुलाई आफ्नै निवासमा बोलाएर राष्ट्रपतिले चुनावी जटिलता फुकाउन आफूले लिनु पर्ने निर्णयबारे जानकारी गराउन आयोगलाई आग्रह समेत गरेका छन्।
आउँदो चुनावका बारेमा राष्ट्रपतिले पूर्व निर्वाचन आयुक्तहरुसँग पनि बुधवारै परामर्श गरेका छन्।
वर्तमान र पूर्व निर्वाचन आयुक्तहरुसँगको भेटबाट चौतर्फी विवादको घेरामा परेको अर्को संविधानसभाको चुनावको बारेमा राष्ट्रपतिले केही कदम चाल्न सक्ने संकेतका रुपमा पनि हेरिएको छ।
अन्तरिम संविधान र निर्वाचन सम्बन्धि विभिन्न कानूनहरु संशोधन नै नगरि घोषणा गरिएको चुनाव सम्पन्न हुन नसक्ने भनेर चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रपति यादवले चुनावी जटिलताका सम्बन्धमा पनि औपचारिक परामर्श शुरु गरेका हुन्।