काठमाडौं – कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बुधबारको बैठकले आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
कांग्रेसले असार ३ देखि १५ गतेसम्म तीन चरणका विरोध कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईसहित मन्त्रीहरूविरुद्ध कालोझन्डा देखाउनेदेखि जुलुस र धर्नासम्मका कार्यक्रम छन् । पहिलो चरणको कार्यक्रम असार ३ देखि ८ गतेसम्मको छ । जसमा पार्टीका सबै तहमा कार्यकर्ता भेलाको आयोजना गरी केन्द्रको निर्णयबमोजिम छलफल गर्ने, प्रस्ताव पारित गर्ने, सबै गाउँ/नगरमा कालोझन्डा प्रदर्शन, सिठी जुलुस र कोणसभाको आयोजना गर्ने उल्लेख छ । सरकारविरुद्ध भित्तेलेखन तथा पोस्टरहरू टाँस्ने कार्यक्रमसमेत उसले ल्याएको छ । दोस्रो चरणको कार्यक्रम असार ९ गतेसम्म हुनेछ । जसमा बुद्धिजीवीहरूको जिल्ला भेलाका आयोजना गरी अन्तक्रिर्या गर्ने र माओवादीविरुद्ध वैचारिक बहस थाल्ने कार्यक्रम छ । तेस्रो चरणमा गाउँ, नगर, क्षेत्र र जिल्लामा विरोध जुलुस र विरोधसभाको आयोजना गर्ने कार्यक्रम छ ।
बैठकमा अधिकांश सदस्यहरूले हालसम्मका उपलब्धि रक्षा गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कतिपयले छोटो अवधिका लागि संविधानसभा ब्युँताएर संविधानमा संशोधन गरी निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । ‘उपलब्धिको रक्षाका लागि बढीमा दुई दिन संविधानसभा ब्युँताउनुपर्छ भन्नेमा धारणा आएका छन्,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘तर यसको अर्थ संविधानसभा ब्युँताएर त्यसैले सबै काम गर्ने भनेको होइन । अहिलेसम्म भएको सहमतिको रक्षा गरेर निर्वाचनमा जानका लागि संविधान संशोधन गर्ने काम मात्रै हो ।’ जोशीले अब हुने निर्वाचनसँगै स्थानीय तहको निर्वाचन पनि हुनुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएको बताए ।
देउवा पक्ष बुधबार अनुपस्थित यसैबीच नेविसंघ, तरुण दल र महिला संघको कार्यसमिति विस्तारको घोषणा नभएको भन्दै देउवा समूह बुधबार पनि केन्द्रीय समितिको बैठकमा उपस्थित भएन । देउवा समूहले तीनवटै भ्रातृ संस्थामा थप गर्नुपर्ने नाम बुधबार बिहानै बुझाएको थियो । तर, संस्थापन पक्षले भनेको भन्दा दुई/दुई जना सदस्य थप भएर आएकाले कसरी गर्ने भन्नेमा समस्या उब्जिएको बताएको छ ।