भारतको राजनीतिमा नयाँ बन्ने राष्ट्रपतिको उम्मेदवारीबारे विभिन्न अड्कलवाजी शुरु

भारतको राजनीतिमा यतिबेला नयाँ बन्ने राष्ट्रपतिको उम्मेदवारीबारे विभिन्न अड्कलवाजी शुरु भएका छन् । दलहरुबीच आफूले समर्थन गरेको व्यक्तिलाई उम्मेदवारी दिलाउने प्रयास तीब्र भएको छ ।

 

एउटै दलले चुनाव जित्न सक्ने अवस्था नभएकाले भोट बैक मानिएका क्षेत्रीय दलहरुले महत्व पाएका छन् । कांग्रेस अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा रहेको सत्तापक्षको संयुक्त प्रगतिशील गठबन्धन, यूपीएले आज आफ्नो उम्मेदवार सार्वजनिक गर्ने बताइएको छ ।

 

राष्ट्रपति पदको दौडमा कांग्रेसले हालका अर्थ मन्त्री एवं पार्टीका वरिष्ठतम् नेता प्रणव मुखर्जीलाई अघि सारेको छ भने यूपीएमा आवद्ध तृणमूल कंग्रेसकी अध्यक्ष ममता बनर्जी र समाजवादी दलका अध्यक्ष मुलायम सिंहले मुखर्जीको नाममा सहमति जनाएका छैनन् ।

यी दुई दलले मुखर्जीको नामनै नलिई कांग्रेसकै नेता एवं हालका प्रधानमन्त्री मनमोहन सिंहको नाम राष्ट्रपतिका लागि सुझाएपछि गठबन्धनबीचनै दरार बढ्ने स्थिति देखिएको छ ।

 

यसैले आजको यूपीए बैठकमा महत्वपूर्ण घटक तृणमूल कंग्रेसकी अध्यक्ष ममता बनर्जीलाईसमेत नबोलाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुलायम सिंह र बनर्जीले सिंहका अतिरिक्त, पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम, पूर्व सभामुख सोमनाथ चटर्जीका नाममा सहमति खोज्न प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई कांग्रेसले अस्वीकार गरिसकेको छ । यसैगरी विपक्षी भारतीय जनता दलको नेतृत्वमा रहेको गठबन्धन एनडीएले पनि आजै आफ्नो तर्फबाट नाम सार्वजनिक गर्नसक्ने बताइएको छ ।


Agencies