फल्कल्याण्ड द्वीपको मुद्दा फेरि ब्यूताउन अर्जेन्टीनाको अपील


 

अर्जेन्टीनाकी राष्ट्रपति क्रिस्टीना फर्नान्डेज डे किर्चनरले फल्कल्याण्ड द्वीपको मुद्दा फेरि ब्यूताएकी छिन् ।

 

फल्कल्याण्ड युद्धको तीसौं वर्षगाँठका अवसरमा राष्ट्रसंघमा भएको एक कार्यक्रममा राष्ट्रपति किर्चनरले विश्वबाट सबै खाले उपनिवेशवाद अन्त्य गर्न संयुक्त राष्ट्रसंघसँग अपील पनि गरिन् ।

 

उनले फल्कल्याण्ड द्वीपमाथि अर्जेन्टीनाकै अधिकार रहेको दावी फेरि दोहो-याएकी छिन् । यो मुद्दामा इतिहास र भूगोल दुबै अर्जेन्टीनाकै पक्षमा रहेको जिकीर उनको छ ।

 


 

तर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राष्ट्रपति किर्चनरको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै यस विषयमा कुनै छलफल नै हुन नसक्ने भनेका छन् ।

 

तर किर्चनरले भने फल्कल्याण्ड कसरी १४ हजार किलोमिटर टाढा रहेको बेलायतको भूमि हुनसक्छ भन्ने प्रश्न गरिन् ।

 

३० वर्ष अगाडि सन् १९८२ मा भएको युद्धमा ७४ दिन आफ्नो कब्जामा अर्जेन्टीनाले यो जमीन राखेपनि युद्धमा पराजयपछि ब्रिटेनकै नियन्त्रणमा छ । तर फल्कल्याण्ड द्वीपमाथिको अधिकारमा अर्जेन्टीनाले दावी गरिरहेको छ । ३० वर्ष अगाडिको युद्धमा २ सय २५ जना बेलायती र ६ सय ५० अर्जेन्टीनी मारिएका थिए ।