जापानी युवती बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्षदेखि जेलमा रहेका गोविन्दप्रसाद स्वदेश फर्किए



 

Click on the slide!– देवेन्द्र भट्टराई

 

काठमाडौं – जापानी युवती बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्षदेखि जेलमा रहेका गोविन्दप्रसाद मैनाली शनिबार स्वदेश फर्किएका छन् ।

डीएनए परीक्षणमा निर्दोष भेटिएपछि जेलमुक्त भएका ४५ वर्षीय मैनाली १८ वर्षपछि स्वदेश फर्किएका हुन् । मैनाली अदालती सुनुवाई सुन्न जापान पुगेकी श्रीमती राधा, दुई छोरीसहित स्वदेश फर्किएका हुन् ।

मैनालीको स्वागतका लागि ७९ वर्षीय बृद्ध आमा चन्द्रकला, दाजु ईन्द्रलगायत परिवारका सदस्य त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मैनालीलाई देख्नेवित्तिकै आमा भावविहृवल भइन् । चन्द्रकलासँगै परिवारका अन्य सदस्यले पनि फूलमाला लगाए ।

विमानस्थलबाट बाहिरिनेक्रममा गोविन्दले माटो छोएका थिए । उनले ढिलै भए पनि न्याय पाएकोमा खुशी लागेको बताए । ‘यो शब्दमा भन्नै सकिन्न,’ उनको संक्षिप्त प्रतिक्रिया थियो ।

गोविन्दसँगै जापानबाट वकिल र सञ्चारकर्मी पनि आएका छन् । स्वदेश र विदेशका गरी सयभन्दा बढी पत्रकार विमानस्थलमा आएका थिए । प्रहरीले पत्रकार र आफन्तलाई व्यवस्थापन गर्न नसकेको सञ्चारकर्मीको गुनासो थियो ।

रिहा भएपछि औपचारिक प्रतिक्रिया नजनाएका मैनालीले शनिबार साँझ अनामनगरमा पत्रकार सम्मेलन गर्दैछन् ।

सन १९९७ मार्चमा यौनकर्मी महिलाको बलात्कारपछि हत्या गरेको भन्दै योकोहामास्थित जेलमा रहेका मैनालीलाई टोकियोस्थित उच्च अदालतले जेठ २५ गते निर्दोष सावित गरेको थियो ।