संविधानसभाको अवसान भएको तीन सातापछि राष्ट्रपति रामबरण यादवले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सबै दलका प्रमुख नेताहरुलाई आइतबार परामर्शका लागि निम्त्याएका छन्।
विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका नेताहरुलाई बोलाएर राष्ट्रपतिले सबैका कुरा सुन्ने र आफ्ना कुरा राख्ने भनिएको सो भेटघाटलाई महत्वका साथ हेरिएको छ।
गत जेठ १४ गते मध्यरातमा संविधान जारी नगरी संविधानसभा भंग भए यता उत्पन्न राजनीतिक गतिरोधबारे राष्ट्रपति यादव राजनीतिक दलका नेता र कानुनविदहरुसँग निरन्तर औपचारिक, अनौपचारिक परामर्शमा व्यस्त रहँदै आएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपतिले उत्पन्न गतिरोध निकासको उपायको खोजी गर्नेछन्।
दाहालले भने, “संविधानसभाको अवसानपछि उत्पन्न राजनीतिक गतिरोधको निकास पहिल्याउन जरुरी भइसकेको छ। तत्काल निकास दिनुपर्यो। सहमति कायम गरेर जानुको विकल्प छैन भन्ने उहाँको भनाइ हो।”
राष्ट्रपतिले परामर्शका लागि बोलाएको अघिल्लो दिन शनिबार विघटित संविधानसभाका प्रमुख दलका शीर्ष नेताहरुबीच भएको कुराकानीमा गत जेठ दुइ गते भएको पाँच बुँदे सहमतिलाई आधार बनाएर निकास निकाल्ने कुराकानी भएको बताइएको छ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव कुमार नेपाल सँग उनीहरुकै निवास पुगेर कुराकानी गरेका थिए।
कोइराला निवासबाट बाहिरिँदा प्रचण्डले भने, “सुशील कोइरालाजीसँग बडो सौहार्द्रपूर्ण वातावरणमा कुरा भयो। हामीले गरेको पाँचबुँदेलाई आधार बनाएर त्यहींबाट अगाडि बढ्ने कुराकानी भएको छ।”
काठमाडौंमा शनिबार शुरु भएको आफु पक्षधर राष्ट्रिय कार्यकर्ता भेलामा बैद्यले त्यस्तो दावी गरेका हुन्।