ग्रीसमा संसदीय चुनावका लागि मतदान

ग्रीसमा संसदीय चुनावका लागि आज मतदान हुँदैछ । आर्थिक मन्दीका कारण टाट पल्टिने अवस्थामा पुगेपछि ग्रीसको आर्थिक अवस्थाका बारेमा विश्वसमुदाय चिन्तित भइरहेको बेला हुन लागेको यो चुनावलाई महत्वका साथ हेरिएको छ ।


यसअघि ग्रीस सरकारले खर्च कटौती गर्न १५ हजार रोजगारी कटौती, मासिक ज्याला दरमा २० प्रतिशतसम्म कमी, श्रम कानूनमा उदारीकरण जस्ता प्रावधान राखेपछि ऋण चुक्ता गर्न नसक्ने अवस्थामा पुगेको थियो ।


युरोजोनका अरु देशले ग्रीसलाई आफ्नो ऋण चुक्ता गर्न खर्च कटौती योजना लागु गरे मात्र सहयोग गर्ने शर्त राखेका थिए । यसैबीच जर्मन चान्सलर एन्जेला मार्केलले ग्रीसको सुधार कार्यक्रमको समर्थन गर्नेलाई संसदीय चुनावमा भोट हाल्न ग्रीक जनतासँग अपील गरेकी छिन् ।