काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले महासचिव आङ्काजी शेर्पालाई एमालेले निश्कासन गरेकोमा आपत्ति जनाएका छन् ।
माओवादीको सभामा वक्ता बनेको भन्दै शेर्पालाई निश्कासन गरिएको दाबी गर्दै लेखीले आदिवासी जनजाति महासंघमा दलीय आधारमा प्रतिनिधित्व नभएको स्पष्ट पारेका छन् । ‘महासंघ न एमालेको भ्रातृ संगठन हो,’ लेखीले लेखेका छन्, ‘न अन्य कुनै राजनीतिक दलको ।’
पार्टीको सोलुखुम्बु जिल्ला कमिटीका उपसचिवसमेत रहेका शेर्पालाई पार्टीविरोधी गतिविधि गरेको भन्दै एमाले स्थायी कमिटी बैठकले निश्कासन गरेको थियो । लेखीले महासचिव शेर्पाले नेपाल आदिवासी जनजाति महासंघको महासचिवको हैसियतले माओवादीको सभामा आफ्नो ब्यक्तिगत विचार राखेको बताएका छन् ।
‘महासंघका पदाधिकारीहरुले माओवादीको मात्र होइन, अन्य विभिन्न राजनीतिक दलका कार्यक्रममा उपस्थित भएर विचार राख्ने गरेका छौं । महासंघ अधिकारमुखी साझा संस्था भएकाले जुनसुकै राजनीतिक दलको कार्यक्रममा गएर यसका पदाधिकारीहरु विचार राख्न स्वतन्त्र छन्,’ लेखीको भनाइ छ, ‘महासंघको महासचिवको हैसियतले माओवादीको सभामा वक्ता बनेकै आधारमा आङकाजी शेर्पालाई एमालेले आफ्नो पार्टीबाट निष्काशित गर्नु हास्यास्पद त हो नै, यो भन्दा पनि सो पार्टीभित्र मौलाएको अधिनायकवाद प्रकट भएको छ ।’
लेखीले एमालेले महासंघमाथि हस्तक्षेप गर्न खोजेको छ आरोप लगाएका छन् । ‘यसबाट एमाले कति संघीयता विरोधी छ भन्ने यसबाट थप पुष्टि भएको छ,’ विज्ञप्तीमा भनिएको छ । – कान्तिपुर