मोहन वैद्यपक्षीय राष्ट्रिय भेलाद्धारा नयाँ पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी” राख्ने प्रस्ताव सहित औपचारिक विभाजन भएको घोषणा गर्दै

काठमाडौं – एकीकृत माओवादीको बैद्य विचार समूहको हिजोदेखि राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आजदेखि बन्दसत्र शुरु भएको छ । आजको बन्द सत्रले नयाँ पार्टी गठन गर्ने तयारी तीव्र रुपमा अगाडि बढाएको छ । बन्द सत्रको शुरुमै उपाध्यक्ष मोहन बैद्यले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बैद्यले प्रतिवेदनमा नयाँ पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी” राख्न प्रस्ताव गर्नुभएको स्रोतले जानकारी दिएको छ ।

 

यस्तै पार्टी अध्यक्षमा रामबहादुर थापा, उपाध्यक्षमा सीपी गजुरेल र देव गुरुङ, महासचिवमा नेत्रविक्रम चन्द रहने गरी पदाधिकारी विभाजनको प्रक्रिया पनि अघि बढेको बुझिएको छ । सचिवमा भने महिला वा दलित चयन हुने संभावना रहेको बताइएको छ । स्रोतका अनुसार दलित र पिछडिएको समूहबाट खड्बहादुर विश्वकर्मा वा महिलाबाट पम्फा भुषाललाई सचिवको जिम्मेवारी दिने विषयमा भेलामा छलफल भएको बताइएको छ । विचार समूहका नेता मोहन वैद्य भने वरिष्ठ नेताको रुपमा मात्रै रहने पनि स्रोतले बताएको छ ।

 

आजको बन्द सत्रमा वैद्यले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्तावमा उपाध्यक्ष बैद्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु संशोधनवादमा भासिँदै गएको निक्र्यौल निकाल्दै अबका दिनमा उनीहरुसँग बैचारिक, राजनीतिक र सांगठनिक एकता हुन नसक्ने ठहर गरिएको छ । क्रान्तिकारी विचारलाई मर्न नदिन नयाँ पार्टी खोल्नुको विकल्प नभएको भन्दै नयाँ बन्ने पार्टीमा विभिन्न क्रान्तिकारी विचार समूहलाई समेत समावेश गराउँदै अघि बढाउने उल्लेख छ ।

 

भेलामा उपाध्यक्ष बैद्यले पेश गर्नुभएको प्रतिवेदन नेतृ पम्फा भूषालले पढेर सुनाउनु भएको थियो । भेलामा आफ्नो भनाई राख्दै महासचिव रामबहादुर थापाले आफूहले शुरुदेखि नै जनविद्रोहको कार्यदिशाका लागि जोड दिंदै आएपनि नेतृत्व संसदीय भासमा पुगेकाले नयाँ पार्टीको आवश्यकता परेको बताउनु भएको थियो । भेलामा नेता देव गुरुङ्गले पनि भनाई राख्नुभएको थियो ।

 

आज पेश भएको प्रतिवेदनमाथि छलफल गर्न राज्य समिति स्तरका २१ वटा समूह बनाइएको छ । यी समूहमा आजैदेखि छफफल हुने र भोलि समूहगत छलफलले दिने निचोडपछि थप छलफल गरिने बताइएको छ । पर्सि मंगलबार पत्रकार सम्मेलन मार्पmत नयाँ पार्टीको घोषणा गरिने पनि स्रोतले जनाएको छ । भेलामा वैद्य विचार समूहका झण्डै २ हजार ५ सय सहभागी छन् । – Agencies