प्युठान – आइतबार दिउँसोदेखि अत्यधिक परेको वर्षात्ले गर्दा बाढीले बगाएर दुई बालबालिकाको ज्यान गएको छ। वर्षात्ले गर्दा खोलामा एक्कासि बगेको भेलले बगाउँदा लिवाङ र विजयनगरमा एक/एकजनाको एकजनाको ज्यान गएको हो।
मृत्यु हुनेमा लिवाङ-५ बस्ने १०वर्षीया केशरी खड्का र विजयनगर-७ बस्ने १२वर्षीय चेतबहादुर घर्ती रहेको स्थानीय राजेन्द्र खड्काले जानकारी दिए। त्यसैगरी, दिउँसोदेखि राति अबेरसम्म परेको मेघरगर्जनसहितको वर्षात्ले अधिकांश ठाउँमा पहिरो गएको छ। जिल्लाका डेढ दर्जन बढी ठाउँमा पहिरो जाँदा गाउँबाट चल्ने छोटा दूरीका यातायातका सवारीसाधन जिप र मोटरसाइकल चल्न सकेका छैनन्।
आज दिउँसो पानी नपरे बेलुकासम्म जिप सेवा सञ्चालन ल्याउन सकिने यातायात व्यवसायीले जनाएका छन्। बाटो मर्मतका लागि अहिले बिहानदेखि काम सुरु भइरहेको छ। पहिरो ओखरकोट, बाङ्गेमरोठ, खुङ, नारीकोट, बाँदीकोट, अर्खा, रजवारालगायत ठाउँमा गएको स्थानीयवासीले बताएका छन्। रासस