काठमाडौं । विपक्षीहरुको अवरोध र विरोधलाई छल्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई बातावरण सम्बन्धी राष्ट्रसंघीय बैठकमा भाग लिन सोमबार अपरान्ह ब्राजिलको रियो दि जेनेरियो प्रस्थान गरेका छन् । काम चलाउ सरकारका प्रधानमन्त्रीले विदेश भ्रमण जाने हैसियत नराख्ने भन्दै त्रिभुवन विमानस्थल अगाडि विपक्षी गठबन्धनले कालोझण्डा र नारावाजी सहित अवरोध गरेका थिए । विपक्षी गठबन्धनको विरोधलाई मध्येनजर गरी प्रधानमन्त्रीको सवारी चलाईने रुटमा ब्यापक सुरक्षाकर्मी परिचालन गरी अन्यसवारी आवगमनलाई नै ठप्प परिएको थियो ।
प्रर्दशनकारीहरुले विदेश जाने बहानामा विमानस्थल परिषरमै छिरेर समेत प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन भ्याएका थिए । भित्रै गएर कालो झण्डा देखाउने रामप्रसाद अधिकारी, निरञ्जन थापा, सिजर भट्ट, उज्जवन बुढाथोकी र पशुपति साहलाई प्रहरीले पक्राउ समेत गरेको थियो । प्रधानमन्त्रीको प्रस्थानको समयमा वर्षा भएकोले प्रधानमन्त्रीले औपचारिक भ्रमणमा जादाँ ग्रहण गर्ने सलामी समेत ग्रहण गर्न पाएनन । उनी सलामी ग्रहण नै नगरी प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीले आगामि असार ६ देखि ८ मा हुन लागेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले बैठकमा अध्यक्षता गर्ने छन भने प्रधानमन्त्री हिमालय श्रृंखलमा रहेका मुलुककोहरुको नेतृत्वको हैसियतले पनि बैठकमा सहभागी हुनेछन् ।
अपरान्ह चार बजे उडेका प्रधानमन्त्री साढे तिन घण्टा दिल्लीको ट्रान्जिट र त्यसपछि कतारको ट्रान्जिट पछि ब्राजिल प्रस्थान गर्ने छन् । प्रधानमन्त्रीको टोलीमा ३५ जना सहभागी छन् । ब्राजिलमा रहँदा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिह, चिनियाँ प्रधानमन्त्री बेन जिया बाओ, राष्ट्र संघका महासचिव वान कि मुन, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, दक्षिण अमेरिकी राष्ट्रका राष्ट्र प्रमुख र स्क्याण्डेनेभियन मुलुकका केही राष्ट्र प्रमुखहरुसँग पछि भेट्ने कार्यक्रम रहेको छ । RSS