ईजिप्टमा शासन सत्ता सम्हालिरहेको सर्वोच्च सौन्य परिषद्ले आफ्नो अधिकार र शक्ति बढाएको घोषणा गरेको छ ।
सर्वोच्च सैन्य परिषद्ले हिजो घोषणापत्र सार्वजनिक गर्दै देशमा स्थायी संविधान नलेखिएसम्म आमनिर्वाचन नगराउने पनि प्रष्ट पारेको छ । यसैगरी परिषद्ले मुलुकको वजेट घोषणा गर्नेलगायत यसअघि संसदमा रहेको अधिकार पनि आफैले लिएको छ । गत वर्ष तत्कालिन राष्ट्रपति होस्नी मुबारकको पतनपछि शासन सत्ता आफ्नो हातमा लिएको सैन्य परिषद्ले मुलुक संचालनको महत्वपूर्ण अधिकार विस्तारै आफ्नो हातमा लिंदै आएको छ ।
राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान सकिएको केही घण्टापनि नबित्दै सैन्य परिषदले आफूलाई शक्तिशाली बनाउने घोषणा गरेको हो । दुई दिन अगाडिमात्रै ईजिप्टको सर्वोच्च अदालतले गत वर्ष भएको संसदीय निर्वाचनलाई अवैध घोषणा गर्दै संसद विघटन गर्ने आदेश दिएको थियो । त्यसयता, सेनाले सुरक्षा व्यवस्था कडा बनाउँदै संसद भवन आफ्नो नियन्त्रणमा लिएको छ ।