फ्रान्सको संसदको चुनावमा भने राष्ट्रपति फ्राँस्वाँ हल्यान्डको समाजवादी दलले पूर्ण बहुमत ल्याएको छ । संसदमा पूर्ण बहुमत भए पनि राष्ट्रपतिसामु मुलुकको खस्कँदो अर्थतन्त्र सुधार्नुपर्ने गम्भीर चुनौती छ । समाजवादी दलकी नेतृ मार्टिन अब्रीका अनुसार नयाँ संसदले फ्रान्सको वास्तविक प्रतिनिधित्व गर्नेछ । संसदमा प्राप्त बहुमतले राष्ट्रपति हल्यान्डलाई आर्थिक सुधारका उपाय अवलम्बन गर्न सजिलो बनाइदिएको छ ।
निर्वाचनमा समाजवादी पार्टी र उसका गठबन्धनले ३ सय ७ सिट जितेका छन् । ५ सय ७७ सिट भएको संसद नेसनल एसेम्ब्लीमा बहुमतका लागि २ सय ८९ सिट जित्नु पर्याप्त हुन्छ । समाजवादी पार्टीसँग गठबन्धन गरेको ग्रिन पार्टीले संसदमा ९१ सिट जितेको छ ।
फ्रान्सेली एसेम्ब्ली र सिनेट दुवैमा बहुमत पाएपछि फ्रान्समा शासकीय शक्ति समाजवादी दलमा केन्द्रित भएको छ । संसदमा बहुमत भए पनि राष्ट्रपतिलाई उच्च बेरोजगारी र बढ्दो ऋणबाट ग्रस्त फ्रान्सेली अर्थतन्त्र उकास्ने चुनौतीबाट पार पाउन कठिन छ । फ्रान्समा गत १३ वर्षयता बेरोजगारी बढेर १० प्रतिशत पुगेको छ । बजेट घाटा पनि उच्च दरमा बढिरहेको छ ।राष्ट्रपति हल्यान्डसामु फ्रान्सको बजेट सन् २०१७ सम्म सन्तुलित पार्ने र मुलुकको आर्थिक बृद्धिदर बढाउन जर्मनीसँग १ सय अर्ब अमेरिकी डलर सहायता माग्नुपर्ने बाध्यता छ । – Agencies