ऋणको बोझमा रहेको ग्रिसको संसदीय निर्वाचनमा न्यू डेमोक्रेसी पार्टीले जितेको छ । अस्ती भएको चुनावमा बेलआउट समर्थक न्यू डेमोक्रेसी पार्टीले वामपन्थी सिरिजा पार्टीलाई पराजित गरेको हो । बेलआउट समर्थकको जितसँगै ग्रिस युरोजनोबाट बाहिर हुने खतरा कम भएको छ । निकै कम अन्तरबाट बहुमत पाएको न्यू डेमोक्रेसीका नेता एन्तोनिस समारासले राष्ट्रिय सरकार गठन गर्ने प्रयास गरिरहेका छन् ।
न्यु डेमोक्रेसी पार्टी युरोजोनको तर्फबाट ग्रिसको लागि प्रस्तावित आर्थिक कटौती प्याकेजको समर्थन गर्दछ । उसले युरोपीय संघ र अन्तर्राष्ट्रिय मुद्राकोषसँग जुन बेलआउट प्याकेज तथा आपतकालीन ऋणको सर्तमा सहमति भएको छ । त्यसमा परिवर्तन गर्ने प्रयास गर्ने जनाएको छ । निर्वाचनमा दोस्रो स्थानमा आएको सिरिजा पार्टीले बेलआउट प्याकेजको सर्त अस्वीकार गर्दै विपक्षमा बस्न तयार भएको जनाएको छ ।
तीन सय सिट भएको ग्रिक संसदमा न्यु डेमोक्रेसी पार्टीले एक सय २९, सिरिजा पार्टीले ७१ र पासको सोसलिस्ट पार्टीले ३३ सिटमा जित हासिल गरेको छ । यसअघि ग्रिसमा संसदीय निर्वाचन ६ मे मा गरिएको थियो । उक्त निर्वाचनमा कुनै पनि पार्टीले स्पष्ट बहुमत पाउन सकेन र राजनीतिक पार्टीबीच कुनै किसिमको गठबन्धन पनि बन्न सकेन । यसकारण जुन १७ तारिखमा फेरि मतदान गरिएको थियो । -Agencies