नवगठित नेकपा, माओवादीद्धारा संस्थापन पक्षलाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै संसदवाद नमान्ने, दल दर्ता नगर्ने, नयाँ जनवादी ब्यवस्थाका लागि जनयुद्ध जाने सक्ने घोषणा


 

एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट विधिवत विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी, माओवादीले मंगलबार पत्रकार सम्मेलन मार्फत नयाँ पार्टीको औपचारिक घोषणा गरेको छ । नवगठित नेकपा, माओवादीका अध्यक्ष मोहन वैद्यले संस्थापन पक्षका क्रान्तिकारी शक्तिलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्। उनले आफ्नो पार्टी देशव्यापीरुपमा समानान्तर ढङ्गले जाने दाबी गर्दै अहिले भइरहेको माओवादीभन्दा कम नहुने दाबी पनि गरे। इतिहासमा ठूलो भएका पार्टीहरु साना भएर जाने पनि उनले बताए। उनको भनाई अब संस्थापन पक्ष ठूलो भइनरहने थियो। नयाँ पार्टी गठनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।

वैद्यले पत्रकारको प्रश्‍नको उत्तर दिँदै भने – संसदीय व्यवस्थाबाट जनताका समस्या हल हुन सक्दैन। त्यसैले हामी दल दर्ता नगर्न पनि सक्छौं। किनकि हामी संसदवाद मान्दैनौं। बाबुराम र प्रचण्डलाई कुन वर्गको मान्ने भन्न पनि समस्या छ। हामी हैन, उनीहरु पार्टीबाट फुटेका हुन। उनीहरुले घाँटी जोड्ने कुरा छाडेर आए मिल्ती पनि हुन सक्छ। तर उनीहरुले यो दलाली प्रवृत्ति त्याग गर्नुपर्छ।


Photo8

 

काठमाडौ – एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट फुटेर बनेको नयाँ पार्टी नेकपा, माओवादीका अध्यक्ष मोहन बैद्यले आफुहरु सबैभन्दा ठूलो विरोध संसदवादसंग रहेको बताएका छन् । मंगलबार नयाँ पार्टीको घोषणा गर्न आयोजित पत्रकार संम्मेलनमा बैद्यले उक्त कुरा बताएका हुन् ।

 

प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदवादको विरुद्धमा जुनसुकै किसिमको हदसम्म संघर्ष गर्न सकिने पनि उल्लेख गरे । ‘हामीले संसदवादको बिरुद्धमा नयाँ जनवादी ब्यवस्थाका लागि जनक्रान्ति गर्ने हो, त्यसमा जनयुद्ध, जनिवद्रोह जे पनि हुनसक्छ ।’

 

बैद्यले दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि मंगलबार नयाँ पार्टीको रुपमा नेकपा, माओवादी औपचारिक रुपमा घोषणा गरेका हुन् । वैद्यले पत्रकार सम्मेलनमा नयाँ पार्टी गठन भएको घोषणा गरेका थिए ।

 

उनले अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले दश वर्षे जनयुद्धको उपलब्धीलाई ध्वस्त पारेकाले उनीहरुसंग सम्बन्ध विच्छेद गरिएको बताए । ‘प्रचण्ड र बाबुरामले जनमुक्ति सेनलाई सम्मानजक समायोजन नगरी नसस्त्रिकरण गरेको तथा नयाँ संविधान निर्माणमा पनि असफल भए,’ उनले भने ‘राष्ट्रिय स्वाधिनताको प्रश्नलाई पनि गलत दिशा तर्फ लगियो यस्तो अवसरवादसंग बसिरहन उचित नभएको ठानी सम्बन्ध विच्छेद गर्ने निर्णय गर्यौं ।’

 

उनले त्यो समूहबाट जनताको हक हितको रक्षा र देशको स्वाधिनताको पनि रक्षा हुने स्थिति नभएको आरोप लगाए । ‘यो अवस्थामा गणतन्त्र, संघीयता, धर्मरिपेक्षता लगायतको रक्षा र जनताको अधिकार रक्षाका लागि आन्दोलनमा जाने निर्णय लिएका छौं,’ उनले भने । उनले जनविद्रोहको तुरुन्तै सम्भावना नभएपनि लामो तयारी पश्चात जनक्रान्तिमा जाने निश्चित भएको बताए ।

 

उनले प्रचण्ड र बाबुराम सच्चिएर आए उनीहरुसंग फेरि पनि एकता हुनसक्ने बताए । फागुन १ गते गर्ने भनिएको महाधिवेशन एकता महाधिवेशन पनि हुन सक्ने उनकोभ भनाई थियो । उनले संस्थापन पक्षमा रहेका क्रान्तिकारी शक्तिलाई आफूसंग आउन आग्रह पनि गरेका छन् ।

 

नयाँ पार्टीको गठनसंगै नेपाल कम्युनिष्ट इतिहासमा नयाँ अध्यायको थालनी भएको छ भन्दै उनले तेस्रो धारको निर्माण गरी मुलुकलाई निकास दिने दावी गरे ।

 

‘कांग्रेस र एमालेको गठबन्ध वा नव संशोधनवादीको गठबन्धन दुवैले देशलाई अगाडि लान सक्दैन,’ उनले भने ‘दुवैको एजेन्डा सत्ता हो । हामी यो सत्ताको विवादमा छैनौ ।’उनले देश र जनताको पक्षमा भएका निर्णयमा जो सुकैलाई समर्थन गर्न सकिने भएपनि कसैसंग विलिन नभएर स्वतन्त्र तेस्रो धारलाई अगाडि बढाइने बताए । उनले आफ्नो पक्षबाट कुनै प्रकारको भिडन्त नहुने दावी समेत गरे ।

 

सचिव सीपी गजुरेलको सम्बोधनबाट सुरु भएको पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापाले भेलाले तयार पारेको निष्कर्ष पढेर सुनाएका थिए । कार्यक्रममा नयाँ पार्टीका अध्यक्ष मोहन वैद्य सहित नेताहरु उपस्थित छन् ।