असन्तुष्ट एमालेका जनजाति तथा मधेशी नेताहरुद्धारा तत्काल पार्टी नछाडी आफ्नो विचारको पक्षमा संघर्ष गर्ने

– मनोज वस्नेत

 

काभ्रे  – एकल जातीय पहिचान सहितको संघीयता पार्टीले अस्विकार गरेपछि असन्तुष्ट एमालेका केही जनजाति तथा मधेशी नेताहरुले पार्टी भित्र आफ्नो विचारको पक्षमा संघर्ष गर्ने भएका छन् । तत्काल पार्टी नछाडी आफ्नो विचारका पक्षमा मत बढाउने निष्कर्षमा ती नेताहरु पुगेका छन् ।

बुधबारदेखि धुलिखेलमा बसेको असन्तुष्ट नेताहरुको बैठकले पार्टीमै रहेर आफ्ना विचारका पक्षमा संघर्ष गर्दै शक्ति संचय गर्ने रणनीति बनाएका छन् । पार्टीले आफ्ना विचारको कदर नगरे पार्टी अन्त्यमा पार्टी छाड्ने उनीहरुको तयारी छ । बैठकमा सहभागी अधिकांशले पार्टी भित्र अन्तरसंघर्ष गर्नुभन्दा नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत राखेपनि तत्काल अन्तरसंघर्षमै जाने र संविधानसभा पुर्नस्थापनाका लागि सडक संघर्षमा जाने निर्णय गरेको छ ।


बैठकपछि एमाले उपाध्यक्ष अशोक राईले पार्टी भित्र आफूहरुको छुट्टै विचार दारा भएकाले छुट्टै बैठक बसेको बताए । उनले संविधान बन्नका लागि संविधानसभा पुर्नस्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसंग सहकार्य गरेर सडक संघर्ष गरिने जनाए । उनले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरु जातीय पहिचान सहितको संघीय संरचनामै रहेको र त्यसका लागि पार्टी भित्र संघर्ष गर्ने उल्लेख गरे ।


अर्का नेता राजेन्द्र श्रेष्ठले पार्टीको राष्ट्रिय भेलाले गरेकेा निर्णय यथास्थितिवादी र प्रतिगामी रहेको आरोप लगाए । उनले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।


धुलिखेलको बैठकमा उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ,केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना सहभागी थिए ।