पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सत्तारुढ पाकिस्तान पिपुल्स पार्टीले अघि सारेका माखादुम शाहवुद्धिन विरुद्ध पाकिस्तानको एक अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
स्वास्थ्यमन्त्री रहँदा अवैध लागूऔषध आयत गरेको अभियोगमा रावलपिण्डीस्थित लागू औषध विरोधी अदालतले शाहवुद्धिन विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । अदालतको यस्तो आदेशपछि शाहवुद्धिको उम्मेदवारी के हुने भन्ने अन्योल उत्पन्न भएको छ ।
केही कानुन व्यावसायीले शाहवुद्धिन पक्राउ नै परेपनि संसदले उहाँलाई प्रधानमन्त्री चयन गर्न सक्ने तर्क गरिरहेका छन् । राष्ट्रपति असिफ अलि जर्दारीका प्रियपात्र शाहवुद्धिन पीपीपीका सवैभन्दा वरिष्ठ सदस्य हुन भने गिलानी सरकारमा उनी टेक्स्टायल मन्त्री थिए ।
शाहवुद्धिनसंगै उक्त अदालतले निबर्तमान प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीलाई पनि सोही मुद्धामा पक्राउ पूर्जी जारी गरेको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्धामा तत्कालीन प्रधानमन्त्री गिलानीलाई पदमा रहन अयोग्य ठहर गरेपछि भोलि पाकिस्तानी संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुंदैछ । प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार शाहवुद्धिन विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनको विकल्पमा पीपीपीले राजा परवेज असरफलाई खडा गर्न सक्ने पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो घटनासंगै पाकिस्तानमा कार्यपालिका र न्यायपालिकाबीचको टकराव बढ्न सक्ने आशंका गरिएको छ ।