मुम्बईमा भीषण आगलागी


 

मुम्बई  –  भारतको महाराष्ट्र राज्यस्थित मुम्बई प्रमुख प्रशासनिक भवनमा बिहीवार अपरान्ह भीषण आगलागी भएको छ । महाराष्ट्का मुख्य मन्त्रीको कार्यालयसहित अधिकांश मन्त्रालय रहेको मुम्बईस्थित उक्त भवनमा फसेका  करिब ३ हजार मानिसलाई सकुशल बाहिर निकालिएको राज्य सरकारका अधिकारीहरुले बताएका छन् ।

 

यद्यपि केही घाइते भएको र उनीहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । आगलागीको कारणबारे तत्काल प्रष्ट हुन नसकेपनि सर्ट सर्किट हुंदा भवनमा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

आगालागीको खबर पाउना साथ अग्निनियन्त्रक तथा उद्धारकर्मीहरु ठूलो संख्यामा घटनास्थलमा खटिएका थिए । विशेष कमाण्डो तथा नौसैनिक हेलिकप्टरहरु पनि खटाइएका थिए ।


आगलागीबाट मन्त्रालयहरु पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । छ तले उक्त भवनको सबैभन्दा माथिल्लो तलामा रहेको मुख्यमन्त्री कार्यालयको आधा हिस्सा समेत आगलागीमा क्षतिग्रस्त भएको छ । शहरी विकास तथा शिक्षासहितका कयौैं अन्य मन्त्रालयका कागजात जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । यद्यपि आदर्श हाउसिंग सम्बन्धी अनुसन्धानका कागजातहरु सुरक्षित रहेको केन्द्रिय  जांच ब्युरो सीबीआईले जनाएको छ । युद्धमा मृत्यु भएका सैनिकका परिवारका लागि भनेर बनाइएको आदर्श हाउसिंगमा अवैध तरिकाले अन्य व्यक्तिहरुलाई पनि फ्ल्याट उपलब्ध गराइएपछि व्यापक भ्रष्टाचारको आशंकामा सीबीआईले अनुसन्धान गरिरहेको छ ।


राज्य सरकारको प्रमुख प्रशासनिक भवनमा आगलागी भएपछि सुरक्षा तयारीलाई लिएर व्यापक प्रश्नहरु उठाइएका छन् । भवनमा आगलागी शुरु हुने बित्तिकै बज्नुपर्ने खतरा घण्टी समेत नबजेको बताइएको छ ।

 

– Agencies