“बेसहारा” बालकको जिम्मा प्रधानसेनापतिले लिए / भविष्य राम्रो बनाइदिन्छु भन्नुभाछ”

च्याउ खाएका कारण आफ्नो बाबुआमाको मृत्यु भएपछि विचल्लीमा परेका २ वर्षे बालक चोकमान चेपाङको पालनपोषण नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङले गर्ने भएका छन् । बाबुआमा गुमाएका चोकमानको भविष्यको बारेमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानसेनापति गुरुङले चासो देखाएर चोकमानलाई हुर्काउने जिम्मेवारी लिएका छन् । उनले बिहीबार बिहानै चितवनको भरतपुरमा रहेको शमशेर दल गणलाई खबर गरी बालक मगाएका थिए ।


शमशेर दल गणका प्रमुख सेनानी ज्योतिन्द्र महतसहितको टोली बिहीबार कविलासको चौकीडाँडा पुगेको थियो । टोलीले स्थानीयवासी, बालकका हजुरबा, हजुरआमा र गाउँका अगुवासँग छलफल गरेका थिए । प्रधानसेनापति गुरुङले चोकमानलाई धर्मपुत्र नभई पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गरी उसको भविष्य बनाइदिने प्रतिबद्धताअनुसार बालकलाई पठाइएको स्थानीय अगुवा देव गुरुङले बताएका छन् ।