आपसी लडाईका कारण संविधानसभा विघटन: चित्रबहादुर के.सी

– कृष्ण खनाल

 

बुटवल असार ८ ।   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले संघीयता पक्षधरहरुको आपसी लडाईका कारण संविधानसभा विघटन भएको बताउनुभएको छ ।


उहाँले संघीयता पक्षधर एमाओवादी मधेशवादी र जातिवादीहरु आपसी लडाई लडेर संविधानसभा विघटन गरेर अहिले उनीहरुले नै संघीयता विरोधीहरुका कारण संविधानसभा विघटन भएको भनेर जनतामा भ्रम फिजाएर फेरी जनतालाई झुक्काउने खेलमा लागेका बताउनुभयो । 


 संविधानसभाबाट संविधान बताउनेबेला जातीय राज्यको पक्षमा लडेर संविधानसभा विघटन गरेर जनताको सामु गलत सन्देश  फिजाउनेहरुले संविधान नचाहेको बताउनुभयो ।

 

अखिल नेपाल शिक्षक संघको शुक्रबारदेखि बुटवलमा सुरु भएको प्रथम राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफुलाई एक नम्बर क्रान्तिकारी भन्ने एमाओवादीको गलत राजनीतिका कारण मुलुक संविधानसभा संसद र सरकार विहिन भएको बताउनुभयो ।


उहाँले वर्गीयतालाई छोडेर जातिवादीहरुको नेतृत्व गरेको एमाओवादीका कारण संविधानसभा विघटन भएको बताउँदै एमाओवादीबाट अलग भएको बैद्यले नेतृत्व गरेको पार्टीले क्षेत्रीयता र जातीय मुद्दा बोकेकाले यसबाट सचेत हुनुपर्ने बताउनुभयो ।

 
संविधानसभा ब्युताउन नहुने बताउँदै दलीय सहमतिमा संविधानसभा निर्वाचन गर्नुपर्ने बताउँदै मरी सकेको ६ सय १ को भेडीगोठ ब्युताएर रमिता प्रदर्शन गर्न नहुने बताउनुभयो ।

 
उहाँले ठुला भन्ने राजनीति पार्टीहरुले आफ्नै पार्टी चलाउन नसकेर विदेशीको इसारामा उनीहरुको पार्टी चलेको दावी गर्दै आफ्नो पार्टी चलाउन नसकेका दलहरुले देश चलाउन नसक्ने  भन्दै भन्नुभयो – आखिरमा देश चलाउने चोर बदमास  भएपनि दलका नेताहरुले नै हो त्यसैले दलका नेताहरुलाई सत्ताको राजनीति भन्दा माथि उठाउन खबरदारी  जरुरी  छ ।  


उहाँले संघीय नाराकार कारण नेपाली समाज भावनाआत्मक रुपमा विभाजनको अवस्थामा पुगेको बताउँदै  संघीयतालाई थेग्न सक्ने मुलुकको योग्यताक्षमता र सार्मथ्य नभएको दावी गर्दै संघीयता खारेज गर्नुको विकल्प छैन भन्नुभयो ।

 
डलरको खेती गरेर जातीय राज्यको ओकालत गर्ने एनजिओ आइएनजिओ पनि मुलुकको हितमा नभएको नेता के.सीको भनाई छ ।

 
नेता के.सीले काँगे्रस एमालेको अडानका कारण अहिलेको काल टरेको बताउँदै काँगे्रस एमालेले अडान नराखेको भए जातीय राज्यसंगै मुलुकमा काल आउने थियो भन्नुभयो ।


उहाँले एमाओवादीको जातीय राजनीतका कारण मुलुकमा संकटको अवस्था सृजना भएकाले दलीय सहमति आजको प्रमुख आवश्यक्ता रहेको बताउँदै एमाओवादीले भने भै बाबुरामकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन कोही मान्ने पक्षमा नभएको बताउनुभयो ।


उहाँले नेपाली पाठ्यक्रम र शिक्षानीति बैज्ञानिक नभएको र विभेदकारी शिक्षा प्रणालीको अन्त्य गर्नुको विकल्प नहुने बताउनुभयो ।