ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न राष्ट्रसंघीय दिगो विकाससम्बन्धी विश्व सम्मेलनले विश्वमा गरिबी निवारण र वातावरणीय सन्तुलनमा जोड दिएको छ ।
रियो दि जेनेरियोमा तीन दिनसम्म सञ्चालित सो सम्मेलनले विश्वका करिब एक अर्ब जनता अझै पनि गरिबीको रेखामुनि रहेर बाँच्न बाध्य भएकाले उनीहरुलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिएको हो । सम्मेलनको समापनसँगै जारी गरिएको वक्तव्यमा गरिबी निवारण र वातावरणीय विकासमा लाग्न विश्वका सबै राष्ट्रलाई आह्वान गरिएको छ ।
साथै आगामी पुस्ताको पनि भविष्य सुनिश्चितताका लागि दिगो विकासको अवधारणको विकासलाई साकार पार्नुपर्नेमा विश्वका सबै नेताहरु सहमत भएको बताइएको छ । ब्राजिलको सोही सहरमा आजभन्दा २० वर्षअघि सम्पन्न पृथ्वी सम्मेलनले वातावरणीय संरक्षणका साथै दिगो विकासको आवधारणा ल्याएको थियो ।