सीमा बन्जाडेले बुटबलका राम कार्कीसंग विवाह गरेपछि सम्बन्ध विच्छेद गरेका शान्ति मन्त्री टोपबहादुर रायमाझी पत्नी पीडित संघ खोल्ने योजनामा


 

– गत वर्ष असारमा मन्त्री रायमाझीकी पत्नि सीमा बन्जाडेले बुटबलका रामबहादर कार्कीसंग विवाह गरेको बाहिर आएपछि मन्त्री रायमाझीले सम्बन्ध विच्छेद गरेका थिए ।

 

– कल्पना घिमिरे

 

काठमाडौं – ‘मलाई केही साथीहरूले पत्नी पीडित संघ खोल्न सल्लाह दिइरहेका छन्,’ केही समयअघि सम्बन्ध विच्छेद गरेका शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले भने, ‘महिलामात्र होइन यहाँ (सहरमा) पुरुषहरुले पनि हिंसा खेपिरहेका छन् ।’

मन्त्री रायमाझीको यस्तो वक्तव्य सुनेपछि राष्ट्रिय महिला आयोगको सभाहलमा जम्मा भएका सहभागीहरूले पररर…. ताली पिटे । आयोगद्वारा सोमबार आयोजित ‘घरेलु हिंसापीडित महिलाको समस्या र समाधान’ विषयक अन्तरक्रियामा मन्त्री रायमाझीले सहरी क्षेत्रका कतिपय पुरुष घरेलु हिंसामा परेको बताएका हुन् ।


उनले आफू हिंसामा परेको प्रत्यक्ष नबताए पनि पटक/पटक आफ्नै समस्या दोहोर्‍याइरहे । ‘नेपालमा ९९ प्रतिशत महिला कुनै न कुनै रुपमा घरेलु हिंसाबाट पीडित भएका छन् तर सहरीक्षेत्रमा तीन/चार प्रतिशत पुरुषले महिलाबाट हिंसा खेपिरहेका छन्,’ पछिल्लो समय महिलाले दोस्रो बिहे गर्ने चलन विकसित भएको बताउँदै उनले भने, ‘सहरी क्षेत्रका केही महिलाको कामै विवाह गर्दै हिँड्दै गर्ने भएको छ ।’


उनका अनुसार शहरी क्षेत्रमा बसोबास गर्दै आएका महिलाले सम्पति लुट्नकै लागि एक/दुई गर्दै पाँच जनासम्म विवाह गरेका उदाहरण छन् । कतिपय महिलाले एउटासंग विवाह गर्ने सम्पति लिने अनि भाग्ने गरिरहेका छन् । हिंसापीडित महिलालाई सुरक्षा र न्याय दिलाउन हामी पहल गर्छौ । तर, यस्तो अवस्थाका पीडित पुरुषलाई कसले हेर्छ ?


शहरका केही पीडित पुरुष साथीहरुको जमातले न्याय पाउनका लागि संघसंस्था खोल्ने योजना बनाउँदै गरेको उनले जानकारी दिए । केही साथीहरुले पन्तिपीडित संघ खोल्न सल्लाहा दिइरहेको उनले बताए ।


कार्यक्रममा मन्त्रीले अन्य पुरुषका लागि आवाज उठाएपनि वास्तविक जीवनमा मन्त्री आफैं पन्तिपीडित हुन् । गत वर्ष असारमा मन्त्री रायमाझीकी पत्नि सीमा बन्जाडेले बुटबलका रामबहादर कार्कीसंग विवाह गरेको बाहिर आएपछि मन्त्री रायमाझीले सम्बन्ध विच्छेद गरेका थिए ।


रायमाझी पत्नि बन्जाडेले नव विवाहित कार्कीले खान लाउन नदिएको भन्दै भैरहवा जिल्ला अदालतमा अंश मुद्धा हालेकी थिइन् । केही समय पछि आफ्नो मगज बिगि्रएर झुटा विवरण पेश गरेको भन्दै  मुद्धा फिर्ता लिएकी थिइन् ।


तत्कालिन समयका स्थानीय विकास मन्त्री रायमाझीले श्रीमतीलाई आफुले समय दिन नसकेका कारण घरैभित्र विकृति मौलाएको स्वीकारेका थिए ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुणामणी शर्माले सार्वजनिक नीति, कानुन, सामाजिक परिस्थितिले हिंसाको सिर्जना गरेको बताए । ‘हाम्रो धरातल नै पुरानो परम्परामा आधारित भएकाले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको हो,’ उनले भने, ‘महिला हिंसाको अन्त्यका लागि सरकारी र गैर सरकारी संस्थामार्फत पहल गरिरहँदा पनि अपेक्षा गरेजति उपलब्धी हाँसिल हुन सकेन ।’ महिला हिंसा अन्त्यका लागि आफु प्रतिवद्ध  भएर लागने उनले बताए ।


कार्यक्रममा हिंसापीडित महिलाले आफ्ना समस्या प्रमुख जिल्ला अधिकारी शर्मा, मन्त्री रायमाझी, महिला आयोगका सदस्य लगायत सहभागी गाबिस सचिबहरुलाई आफ्ना समस्या सुनाएका थिए ।

 

समाचार स्रोत: कान्तिपुर

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।