बेलायती गुप्तचर निकाय एम आई फाईभले बेलायतका उद्योगहरु साईबर आक्रमणको उच्च जोखिममा रहेको बताएको छ । गुप्तचर निकाय एम आई फाईभको प्रमुख बनेको दुई वर्षपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ती दिदै जोनाथन ईभान्सले मुलुकका उद्योगधन्दामाथिको साईबर हमला अहिलेसम्मकै उच्च जोखीममा पुगेको बताउनुभयो ।
पछिल्लो समय आतंकवादीहरुले समेत साईबर हमलामा आफ्नो ध्यान केन्द्रीत गरेको निष्कर्ष निकाल्दै ईभान्सले आसन्न लण्डन ओलम्पीकलाई यसको त्रासबाट सुरक्षीत राख्नु अहिलेको मुख्य चुनौती भएको औल्याउनुभयो ।
बेलायती सरकारी, अर्धसरकारी तथा नीजि औद्योगीक क्षेत्रलाई साईबर हमलाबाट जोगाउन एम आई फाईभले उच्च सतर्कताका साथ काम गरिरहेको वहाँले बताउनुभयो । गुप्तचर प्रमुख ईभान्सका अनुसार बढ्दो साईबर आक्रमण समग्र सुचना प्रणालीकै लागि खतरा बनीरहेको छ ।