विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनले ल्याटिन अमेरीकी राष्ट्रहरुको आर्थिक विकासमा सघाउने ईच्छा देखाएको छ ।
यसका लागि चीनले दक्षिण अमेरीकी राष्ट्रहरुलाई १० अर्ब अमेरीकी डलर बराबरको ऋण सहयोग प्रस्ताव गरेको छ । दक्षिण अमेरीकी राष्ट्रहरुको भ्रमणको अन्त्यमा चिनियाँ प्रधानमन्त्री वेन जियावाओले यस्तो प्रस्ताव गर्नु भएको हो । चीनले प्रस्ताव गरेको अर्थिक सहायता उक्त क्षेत्रमा भौतिक पूर्वाधार विकासमा खर्च गरिने बताईएको छ ।
भ्रमण क्रममा वेन जियावाओले दक्षिण अमेरीकी व्यापार मञ्च मर्कोसरसँग व्यापार सम्झौता गर्न समेत प्रस्ताव गर्नुभएको छ । यो समूहमा दक्षिण अमेरीकाका शक्तिशाली राष्ट्रहरु ब्राजील, अर्जेन्टीना, पाराग्वे र उरुग्वे छन् ।
विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र भएको राष्ट्र अमेरिकाका छिमेकी ल्याटिन अमेरीकी क्षेत्रमा चीनले लगानी बढाउने प्रस्ताव गर्नुलाई विश्व अर्थ जगतमा निकै महत्वका साथ हेरिएको छ ।