अमेरिकाको कोलोराडोमा फैलिएको आगलागीका कारण ३२ हजार बासिन्दा विस्थापित
आषाढ़ १४ गते, २०६९ मा प्रकाशित
अमेरिकाको कोलोराडोमा फैलिएको आगलागीका कारण ३२ हजार बासिन्दा विस्थापित भएका छन् । आगलागीले अरु ६ वटा राज्यमा पनि असर पुर्याएको बीबीसीले जनाएको छ । ६२ किलोमिटर क्षेत्रफलमा आगो फैलिएको त्यहाँ सरकारी अधिकारीहरुले बताएका छन् ।
रातीदेखि आगो नियन्त्रणमा लिन प्रयास भएपनि ५ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको उनीहरुको भनाई छ । त्यहाँ मौसम बदली भई वर्षा हुने सम्भावना निकै कम भएको मौसमविद्हरुले बताएका छन् । आगो निभाउन हेलिकोप्टरको सहायता लिइएको छ ।आगो नियन्त्रणमा लिन ८ सय जना अग्नि नियन्त्रकलाई घटाईए पनि नियन्त्रणमा लिन सकिएको छैन । कोलोराडोका अधिकारीहरुले बुधवार बिहान पत्रकार सम्मेलन गरी आगो नियन्त्रणका लागि रातिदेखि नै अग्नि नियन्त्रक खटिएपनि आगो नियन्त्रणमा लिन नसकेको बताएका हुन् ।
केहि हप्ता अघि मात्र अमेरिकाको मोन्टाना, यूटा, न्यू मेक्सिको, एरीजोन, क्यालिफोर्नीमा पनि आगलागी भएको थियो । अमेरिकामा हरेक वर्ष आगलागीका कारण करौडौँको क्षति हुने गरेको छ ।