अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि पार्टीका सहअध्यक्ष यादवलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । गुप्ताले सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रालय पनि यादवकै पोल्टामा परेको थियो ।
बरिष्ठ नेता राजलाल यादवले राजकिशोरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै हटाएको दाबी गरे । नन्दनकुमार दत्तलाई उक्त जिम्मेवारी दिइएको उनको भनाइ छ ।
कार्यवाहक अध्यक्ष तोकिएका दत्तले २२ सदस्यीय केन्द्रीय समितिका १२ जना स शरिर उपस्थित भई राजकिशोर हटाएको जानकारी निर्वाचन आयोगलाई दिइएको बताए । ‘यसमा अध्यक्ष जेपी गुप्ताको लिखित समर्थन छ भने थप दुई केन्द्रीय सदस्यले टेलिफोनबाट समर्थन जनाउनुभएको छ,’ दत्तले भने, ‘राजकिशोरलाई कार्यवाहक अध्यक्षमात्र नभई केन्द्रीय सदस्यबाटै हटाएका छौं ।’ कार्यवाहक अध्यक्षबाहेकका पद जस्ताको तस्तै राखिएको दत्तले बताए ।
मधेसी जनअधिकार फोरम नेपालबाट टुक्रिएको एक वर्षमै गणतान्त्रिकभित्र अनेक खेल भए । भ्रष्टाचार मुद्दामा गुप्ता जेल गए भने राजकिशोरकै सिफारिसमा गणतान्त्रिकबाट कृषि मन्त्री भएका नन्दनकुमार दत्त रातारात हटाइए ।
गणतान्त्रिकबाट सञ्चार राज्यमन्त्री भएकी सुरिताकुमारी साह एनसेलसँग करोडौं घुस मागेको विषयले चर्चामा रहिन् भने तिनै साहले गणतान्त्रिकका अर्का नेता अकवाल अहमदलाई संसद् भवनमै थप्पड हानिन् ।
गणतान्त्रिकबाट बिना विभागीय मन्त्री भएका राजलाल यादवले जिम्मेवारी नपाएको भन्दै राजीनामा दिए तर मन्त्रालयको जिम्मेवारी नपाई पद खुस्कियो ।