काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता

काठमाडौ  – काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भदौ १ गतेदेखि रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको छ । महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच रत्नपार्कलाई मुख्य केन्द्रविन्दु बनाएर रात्रिबस सञ्चालन गर्ने सम्झौता भएको हो । राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गरिनेछ ।


महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले २६ सिटभन्दा बढी क्षमताका १४ वटा बस सञ्चालन गर्ने तयारी भएको बताए । एकै प्रकारका र उस्तै रङका बस सञ्चालन गर्ने उनले बताए । रत्नपार्कलाई मुख्य केन्द्र बनाएर कोटेश्वर, लगनखेल, कलंकी, जोरपाटी, बालाजु, लाजिम्पाट-गल्फुटारसम्म बस सञ्चालन गरिने उनले जानकारी दिए ।


एक रुटमा दुईवटा बस सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । इन्धन खर्चबापत छ महिनासम्मका लागि महानगरले बस व्यवसायीलाई पैतालीस लाख रुपैयाँ दिने सम्झौता गरेको छ । बस सञ्चालन लागि पैतालीस लाख रुपैयाँमध्ये पच्चीस लाख रुपैयाँ अर्थ मन्त्रालयले विनियोजन गरेको हो ।


यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रत्येक बसमा नेपाल प्रहरी र सीसी टीभी पनि राखिने उनले बताए । ‘रातमा सुरक्षा महत्त्वपूर्ण कुरा हो, त्यसकारण सुरक्षा व्यवस्था कडा पारिन्छ,’ उनले भने । प्रत्येक बसमा एकजना प्रहरी राखिने भन्दै उनले त्यसका लागि सुरक्षा निकायसँग पनि छलफल भइरहेको बताए । यात्रुलाई निश्चित बस स्टेसनमा मात्र ओराल्ने भन्दै उनले त्यसका लागि विशेष सुरक्षा व्यवस्था पनि गरिने बताए ।


रात्रिको समयमा सडक बत्ती समस्या हुने उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्थाको पनि तयारी भएको उनले बताए । हाललाई बस भाडादर दिवा सेवा जतिकै हुने भन्दै उनले तीन महिनापछि घाटा, नाफा मूल्यांकन गरेर बढाइने बताए ।


 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वाग्मती संयोजक धर्मराज थापाले महानगरको आग्रहमा तीन महिनासम्म नाफा नलिएर पनि बस सञ्चालन गर्ने बताए । ‘नयाँ प्रयोग हो, सरकारले पनि यसमा व्यवसायीलाई सहुलियत दिनुपर्छ, अन्य साथीसँग हामी तत्काल छलफल गर्छौं, चाँडै टुंगोमा पुग्छौं,’ उनले भने । महानगरपालिकामा भएको छलफलमा नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग लगायतका प्रतिनिधिको समेत सहभागिता थियो ।

 

कान्तिपुर