काठमाडौ – विपक्षी दलले प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको वातावरण बनाउनुपर्ने भनिरहेको बेला सत्तारुढ घटकले दलहरुबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएको छ ।
सत्तारुढ माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सोमबार बालुवाटारमा बसेको बैठकले संविधान, सरकार र निर्वाचन तीन वटै विषयमा प्याकेजमै सहमति हुनुपर्ने निष्कर्ष निकालेको छ । ‘सत्ता मात्रै होइन,संविधानका विवादित विषय र निर्वाचनका विषयमा पनि सहमति हुनुपर्छ,’ बैठकपछि सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले भने । उनले संविधानको विवादस्पद विषयमा सहमति गरेर त्यसलाई वैधानिक रुप दिने देखि निर्वाचन र सत्ता साझेदारीका विषयमा प्याकेजमै सहमति हुनुपर्ने बताए । बैठकले सहमतिका लागि विपक्षी दलहरुसंग सार्थक वार्ताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।